पर्वत । लगातारको वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाब वर्षको सबैभन्दा उच्च विन्दुमा पुगेको छ। मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतमा परेको अविरल वर्षाका कारण नदीको सतहमा तीव्र वृद्धि भएको हो।
पर्वत । लगातारको वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाब वर्षको सबैभन्दा उच्च विन्दुमा पुगेको छ। मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतमा परेको अविरल वर्षाका कारण नदीको सतहमा तीव्र वृद्धि भएको हो।
आज बिहान कालीगण्डकी नदीको बहाब ६ मिटर ४० सेन्टिमिटरको उचाइमा पुगेको गेज रिडर कृष्णप्रसाद सुवेदीले जानकारी दिनुभयो। यो यो वर्षकै उच्च मापन हो। बिहान ७।४० मिटरको विन्दुसम्म पुगेको बहाब अहिले भने वर्षा रोकिएकाले केही घट्न थालेको बताइएको छ।
नदीको बहाब उच्च भएपछि तटीय क्षेत्रका बासिन्दा जोखिममा परेका छन्। पर्वतको जलजला गाउँपालिकाको बगरफाँट, वारीबेनी, मिलनचोक, लस्ती, खनियाँघाट, कुश्मा नगरपालिकाको मालढुङ्गा, नयाँपुल, मोदीबेणी, फलेवास नगरपालिकाको जैमिनीघाट र विहादी गाउँपालिकाको सेतीवेणीबजार उच्च जोखिममा छन्।
बहाबका कारण पर्वत, स्याङ्जा र गुल्मीको सिमानामा अवस्थित विश्वकै ठूलो शालिग्राम शिला डुबानमा परेको छ। उक्त क्षेत्रका पुजारी तथा पण्डितहरू चिन्तित बनेका छन्। शिला संरक्षणका लागि बनाइएका तटबन्ध र ग्याबियन पनि पानीले पुरिएको र दर्शनका पूर्वाधारमा पूर्ण क्षति पुगेको शालिग्राम क्षेत्रका तिलक पराजुलीले जानकारी दिनुभयो।
कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाको बाँध खुलेको भए पनि बाढीको असर सेतीवेणीबजारमा पर्ने जोखिम कायमै छ। कालीगण्डकी र सेतीखोलाको बहाब उच्च हुँदा पर्वत र स्याङ्जातर्फको बजार क्षेत्रमा करिब दुई सय व्यापारी र स्थानीयवासी त्रसित छन्।
१६ वर्षअघि, २०६६ साल असोज २१ गते यही क्षेत्र डुबानमा परेको र दर्जनौं परिवार विस्थापित भएको स्मरण गर्दै स्थानीय विष्णु न्यौपानेले अहिले पनि त्रास व्याप्त रहेको बताउनुभयो। उहाँका अनुसार हालसम्म बजार क्षेत्रमा पानी नपुगे पनि शालिग्राम शिला पूर्ण रूपमा डुबेको छ।



















