बुटवल–नारायणगढ सडकखण्डअन्तर्गत दाउन्ने पहाडमा ठूलो पहिरो खसेपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। विनयी त्रिवेणी गाउँपालिका–२ स्थित विश्वकर्मा मन्दिर नजिक पहिरो खस्दा दुईतर्फी सवारी आवागमन ठप्प भएको हो।
जिल्ला प्रहरी कार्यालय बर्दघाट सुस्ता पूर्वका प्रहरी उपरीक्षक यादव ढकालका अनुसार लगातारको वर्षाका कारण सोमवार बिहानदेखि एकतर्फी सञ्चालनमा रहेको सडक दिउँसो १ बजेपछि पूर्ण रूपमा अवरुद्ध भएको हो। पहिरो हटाउने प्रयासकै क्रममा माथिबाट फेरि माटो खसेपछि अवस्था झनै जटिल बनेको उनले बताए। वर्षा नरोकिएकाले पहिरो पन्छाउन थप कठिनाइ भइरहेको छ।
सडक अबरुद्ध भएपछि सयौँ यात्रु र सवारी चालक बाटोमै अलपत्र परेका छन्। दाउन्ने पहाड सडक विस्तारका क्रममा काटिएको क्षेत्र भएकाले यहाँ बारम्बार पहिरो खस्ने समस्या देखिँदै आएको छ।




















