साउन महिनामा विदेश जान चाहने ६८ हजारभन्दा बढी नेपालीले श्रम स्वीकृति पाएका छन् ।वैदेशिक रोजगार विभागले चालु आर्थिक वर्षको पहिलो महिना ६८ हजार ११० जनालाई श्रम स्वीकृति प्रदान गरेको हो ।
विभागको तथ्यांकअनुसार व्यक्तिगत तवरबाट ८ हजार ५४७ पुरुष र ३ हजार २२५ जना महिला गरी कुल ११ हजार ७७२ जनाले श्रम स्वीकृति लिएका छन् ।
यस्तै मेनपावरमार्फत पुरुष २९ हजार १३० र महिला २ हजार ७०० गरी कुल ३१ हजार ८३० जनाले श्रम स्वीकृति लिएका छन् ।यसैगरी पुनः श्रम स्वीकृतिमार्फत पुरुष २० हजार ५४७ र महिला ३ हजार ९७ गरी कुल २३ हजार ६४४ जनाले तथा जीटुजीमार्फत पुरुष ७२४ र महिला १४० गरी कुल ८६४ जनाले श्रम स्वीकृति लिएका छन् ।
विभागका अनुसार कुल ६८ हजार ११० जनाले श्रम स्वीकृति लिँदा महिला ९ हजार १६२ जना रहेका छन् भने पुरुष ५८ हजार ९४८ जना रहेका छन् ।



















