लुदस, कोपवा
वाणगंगा नगरपालिका–५, ६ र ११ मा फैलिएको वागेश्वरी सामुदायिक वन उपभोक्ता समूहले १६औँ वार्षिक साधारणसभा भव्य रूपमा सम्पन्न गरेको छ । संरक्षण, सहभागिता र दिगोपनालाई केन्द्रमा राखेर अघि बढ्दै आएको यस समूहको वार्षिक साधारणसभा वन–समुदाय सम्बन्धको सुदृढ चित्रण बन्न पुगेको छ।
कार्यक्रमका प्रमुख अतिथि तथा वाणगंगा नगरपालिकाकी उप–प्रमुख रिता कुमारी चौधरीले सामुदायिक वनको प्रगति, योगदान र सक्रियतालाई विशेष रूपमा प्रशंसा गरिन्। उनले वागेश्वरी सामुदायिक वनले वर्षौंदेखि देखाउँदै आएको संरक्षण प्रतिबद्धता, सामुदायिक एकता र वातावरणीय संवेदनशीलता प्रदेशकै नमूना बन्न सफल भएको उल्लेख गरिन्।
उनका अनुसार, “वन संरक्षण काठ–दाउरा व्यवस्थापनको विषय मात्र नभई यो भविष्यको पुस्तालाई हस्तान्तरण गरिने अमूल्य सम्पदा भएको भन्दै वागेश्वरीका समुदायको सक्रियता र निष्ठाले यस क्षेत्रलाई हराभरा बनाएको बताईन् । जसले स्थानीय जीवनस्तर र वातावरणीय सन्तुलन दुवैमा सकारात्मक प्रभाव पारेको छ। त्यस्तै विशिष्ट अतिथि वडा नं ५ का वडाध्यक्ष दुनिका भुषालले बागेश्वरी वन विगतमा आर्थिक उपार्जन नभएकै कारण ऋणमा रहेको र हाल आएर केही आर्थिक चलाएमान भएको बताए । उनले स्थानीय विकास, विपद् न्यूनीकरण, वातावरणीय सन्तुलन, जीविकोपार्जन र सामाजिक उत्थानमा वनले राम्रो भुमिका आगामी दिनमा पनी सवैले हितकारी ढंगबाट सहयोग पुर्याउन आग्रह गरे ।
डिभिजन बन कार्यालय कपिलवस्तुका वरिष्ठ वन अधिकृत मदन ढुङ्गानाले सामुदायिक वनहरु कार्ययोजना अनुसार अगाडी बढ्नुपर्ने बताए । कार्यक्रममा सव–डिभिजन अधिकृत एजाज अहमद अन्सारी, सामुदायिक वन महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष हुमनाथ भट्टराई, जिल्ला महासंघका अध्यक्ष जयलाल गिरी लगायतको उपस्थिति रहेको थियो । साधारणसभामा बनका अध्यक्ष लेम बहादु गुरुङ्गले आगामी योजनाका बारेमा बताएका थिए ।कोषाध्यक्ष गिरीराज न्यौपानेले आर्थिक वर्ष २०८१/२०८२ को कुल ७८ लाख ४७ हजार ९ सय १० रुपैया बराबरको आय व्याय प्रस्तुत गरेका थिए ।
उपाध्यक्ष पवित्रा बेल्वासेले स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन समूहकी सचिव निर्मला चौधरीले गरेकी थिइन् ।


















