पहिलो पाईला नेपाल बुटवल शाखाको आयोजनामा भएको स्लो बाईक रेस प्रतियोगितामा विनोद कालिराज प्रथम भएका छन् । बुटवल देविनगर स्थित लुम्बिनी बाणिज्य क्याम्पसको खेल मैदानमा भएको प्रतियोगितामा ७० जना प्रतिस्पर्धीलाई पछि पार्दै कालिराज प्रथम हुनुभएको हो । त्यस्तै राजन गहतराज द्धितिय र मनोज आचार्य तृतिय हुनुभयो । प्रथम, द्धितिय र तृतियलाई क्रमश नगद ११ हजार १११, ८ हजार १११ र ४ हजार १११ बाट पुरस्कृत गरिएको थियो । प्रतियोगितामा विजयी भएकाहरुलाई पहिलो पाईला नेपाल बुटवल शाखाकी अध्यक्ष गोमा भट्राई, ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी उपरिक्षक ईन्द्र बहादुर रानाले संयुक्त रुपमा पुरस्कार प्रदान गर्नुभएको थियो । सो अवसरमा बोल्दै प्रमुख अतिथि समेत रहनुभएका प्रहरी उपरिक्षक ईन्द्र बहादुर रानाले सवारी साधन चलाउंदा ट्राफिक नियम पालना गरे अधिकांश दुर्घटनाबाट बच्न सकिने बताउनुभयो । पहिलो पाईला नेपाल बुटवल शाखाकी अध्यक्ष गोमा भट्राईले ट्राफिक सचेतना जगाउंदै युवाहरुलाई एकिकृत गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरेको बताउनुभयो । पहिलो पाईला बुटवल शाखाले समय समयमा सामाजिक उत्तरदायित्व बहन गर्दै रचनात्मक एवं सामाजिक कार्य गर्दै आएको अध्यक्ष भट्राईले बताउनुभयो । कार्यक्रमका संयोजक सन्तोष सुनारले आगामी बर्षहरुमा पनि युवाहरुलाई एकिकृत गर्ने गरी नयां नयां कार्यक्रमहरु गर्दै जाने बताउनुभयो । कार्यक्रम पहिलो पाईला नेपाल बुटवल शाखाका उपाध्यक्ष गौरव खनालको स्वागत तथा सचिव रुद्रप्रसाद खनालको सञ्चालनमा सम्पन्न भएको थियो ।



















