लुदस, तौलिहवा। जन्मदिन मनाउने शैली समयसँगै परिवर्तन हुँदै सामाजिक सेवातर्फ उन्मुख हुन थालेको छ। यसै सन्दर्भमा तौलिहवास्थित युनिक एग्रो सेन्टरका सञ्चालक तथा युवा व्यवसायी रुपक बनियाले आफ्नो जन्मदिनलाई सेवामूलक कार्यसँग जोड्दै उदाहरणीय कार्य गरेका छन्।
बनियाले आफ्नो जन्मदिनको अवसरमा कपिलवस्तु बालगृहका ३२ जना बालबालिकालाई करिब १७ हजार ८ सय रुपैयाँ बराबरको चप्पल वितरण गर्नुका साथै निःशुल्क भोजन गराएका छन्। बालबालिकासँग समय बिताउँदै उनले आफ्नो खुशी साटेका थिए।
सानै उमेरदेखि सामाजिक सेवामा सक्रिय बनिया यसअघि पनि विभिन्न सहयोगात्मक कार्यमा संलग्न रहँदै आएका छन्। उनले विद्यालयका बालबालिकालाई झोला वितरण, अस्पतालमा स्वास्थ्य सामग्री सहयोग, गौशालामा गाईका लागि आहारा व्यवस्थापन तथा कोभिड–१९ महामारीका बेला अक्सिजन सिलिन्डर व्यवस्थापन जस्ता कार्यहरू गर्दै आएका छन्।
“जन्मदिनलाई केवल व्यक्तिगत उत्सवका रूपमा सीमित नराखी समाजप्रति केही योगदान दिनुपर्छ भन्ने सोचले यो कार्य गरेको हुँ,” बनियाले भने, “बालगृहका बालबालिकासँग खुशी साट्न पाउँदा निकै आत्मसन्तुष्टि मिलेको छ।”
बालगृहका कर्मचारी श्यामा गौतमले आवश्यक सामग्री सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्दै यस्ता सहयोगले बालगृह सञ्चालनमा महत्वपूर्ण टेवा पुग्ने बताईन् । उनका अनुसार जन्मदिन, पुन्यतिथि लगायतका अवसरमा हुने अनावश्यक खर्चलाई सामाजिक सेवामा लगानी गर्न सके धेरै विपन्न र असहाय व्यक्तिहरू लाभान्वित हुनेछन्।
कार्यक्रमको सञ्चालन युवा व्यवसायी सुदिप भुसालले गरेका थिए। कार्यक्रममा सुदिप भुसाल, गौरव उपाध्याय, वसन्त सुवेदी, अभिषेक बराल, निरज जैसवाल, दिपक गुप्ता लगायतको उपस्थिति रहेको थियो।


















