लुदस, कपिलवस्तु
कपिलवस्तुकाे बुद्धभूमि नगरपालिकामा मेलमिलाप र संवादमार्फत स्थानीय विवाद समाधानलाई प्रभावकारी बनाउने उद्देश्यले आयोजित तीनदिने अनुभव आदान–प्रदान तथा समन्वय बैठक सम्पन्न भएको छ ।बुद्धभूमि नगरपालिका र जनहित संरक्षण मञ्च प्रो पब्लिकको आयोजनामा भएको कार्यक्रम अन्तर्राष्ट्रिय शान्ति दिवसका अवसरमा असोज ५ गते सोमबार सम्पन्न भएको हो । कार्यक्रममा प्रो पब्लिकका कार्यकारी निर्देशक बाबुराम पौडेलले संस्थाले विगत २०÷२२ वर्षदेखि शान्ति निर्माण तथा द्वन्द्व रूपान्तरणका क्षेत्रमा निरन्तर काम गर्दै आएको बताउनुभयो । मेलमिलाप र संवाद सहजीकरण पनि संस्थाको महत्वपूर्ण कार्यक्रम रहेको उहाँको भनाइ थियो ।
प्रो पब्लिकका नागरिक शान्ति सेवा कार्यक्रमका संयोजक झविन्द्र अधिकारीका अनुसार बुद्धभूमिमा आधारभूत तथा उच्चस्तरीय तालिमसँगै पछिल्लो समय नगरपालिकाबाट सूचीकृत ५५ जना मेलमिलापकर्तामध्ये ४० जनालाई पुनर्ताजगी तालिम प्रदान गरिएको छ ।तालिममा प्रशिक्षकले सिकाउनेभन्दा सहभागीका अनुभवलाई प्राथमिकता दिइएको र करिब ८० प्रतिशत विषयवस्तु सहभागीको अनुभव तथा अभ्यासमा आधारित रहेको उहाँले जानकारी दिनुभयो ।
यस्तै, बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशवकुमार श्रेष्ठले नगरपालिकामा नभएका काम तथा देखिएका कमजोरीलाई रचनात्मक रूपमा औँल्याइएमा त्यसलाई क्रमशः तहगत रूपमा सम्बोधन गर्दै कार्यान्वयन गर्न नगरपालिका तयार रहेको बताउनुभयो ।तर, भएका कामलाई समेत नभएको जस्तो गरी प्रस्तुत गर्दा काम गर्ने जनप्रतिनिधि तथा कर्मचारीको उत्साहमा असर पर्ने उहाँको भनाइ थियो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यमकान्त पाण्डेयले नगरमा शान्ति कायम गर्ने कार्यमा विभिन्न समयमा सरोकारवालालाई उपलब्ध गराइएको स्थान र सम्मानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा सहभागी मेलमिलापकर्ताहरूले वडा तथा समुदायअनुसार फरक–फरक प्रकृतिका विवाद देखिने भएकाले एकअर्काको अनुभव आदान–प्रदानले सिकाइलाई थप प्रभावकारी बनाएको बताएका थिए ।नयाँ तथा पुराना मेलमिलापकर्ताबीच विवादको पहिचान, न्यूनीकरण र समाधानका विषयमा प्रयोगात्मक अभ्यास गर्दा व्यवहारिक ज्ञान र सीप हासिल गर्न सहज भएको उनीहरूको भनाइ थियो ।
कार्यक्रमको समापनका अवसरमा स्थानीय शान्ति, मेलमिलाप तथा विवाद समाधानलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित १० बुँदे बुद्धभूमि घोषणापत्रसमेत जारी गरिएको छ ।घोषणापत्रले स्थानीय तहमा मेलमिलाप प्रणालीलाई थप व्यवस्थित गर्दै समुदायस्तरमा शान्ति, सहकार्य र संवादको वातावरण निर्माणमा जोड दिएको आयोजकले जनाएको छ ।कार्यक्रमले स्थानीय विवादलाई अदालतसम्म पुग्नुअघि नै संवाद र मेलमिलापका माध्यमबाट समाधान गर्ने अभ्यासलाई थप संस्थागत गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।




















