लुदअ, अर्घाखाँची ।
भिम अस्पताल भैरहवाका मेडिकल सुपरिटेन्डेन डा. नविन दर्नालले क्वारेण्टाईनमा बसेका नागरिकलाई आफ्नै खर्चबाट स्वास्थ्य सामाग्री वितरण गरेका छन् । आफ्नो गृह जिल्ला अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका वडा नं. ७ खाँचीकोटका क्वारेण्टाईनमा बसेका नागरिकहरुलाई उक्त सामाग्री वितरण गरेका हुन् ।
डाक्टर दर्नालले भारत तथा छिमेकी जिल्लाबाट आएर क्वारेण्टाईनमा बसेका ९५ जना र स्वास्थ्थकर्मीलाई मास्क, सेनिटाईजर, ग्लब्स र पिपिई सेट उपलब्ध गराएका हुन् । क्वारेण्टाईनमा बसेकाको स्वास्थ्य अवस्थालाई चेकजाँच गर्दा स्वास्थ्यकर्मी लागि आवश्यक पर्ने ५ थान पिपिई सेट, ४ लिटर सेनिटाईजर, हातमा लगाउने ग्लब्स १ सय थान, १ हजार थान सर्जिकल मास्क उपलब्ध गराएको वडा सदस्य रामलाल खनालले बताए । चन्द्रप्रभा माविको प्रागणमा सामाजिक दुरी कायम गर्दै डा. दर्नालका काका लोकदोहोरी गायक जीवन परियार मार्फत उक्त सामाग्री हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा जनप्रतिनिधि बिष्णु भुसाल, रामलाल खनाल, बसन्ता केसी, क्वारेण्टाईनमा बसेकाहरुको सहयोगमा खटिएका बालकृष्ण शाह, केशव घिमिरे, विकास केसी लगायतको उपस्थिति रहेको थियो । भिम अस्पतालमा आफु कार्यरत रहेपनि आफु जन्मेको ठाउँका लागि केही गर्नु पर्छ भन्ने उद्देश्यका साथ स्वास्थ्य सामाग्री उपलब्ध गराएको हो, उनले भने“उक्त सामाग्री नितान्त व्यक्तिगत खर्चले प्रदान गरेको हो ।” उनले आगामी दिनमा जिल्लाका लागि आवश्यक परेको खण्डमा स्वास्थ्य क्षेत्रमा सक्दो सहयोग गर्ने पनि बताए ।
उनले भिम अस्पतालको आईशोलेसन कक्षमा भर्ना भएका कोरोना संक्रमित व्यक्तिलाई दिनरात खटेर उपचारमा विशेष ध्यान दिने गरेका छन् । भर्ना भएका २५ जना कोरोना संक्रमित अस्पतालको विशेष निगरानिमा रहेर निको भई घर फर्किसकेका छन् । अस्पतालमा कोरोना संक्रमितको उपचरका लागि २ वटा भेन्टिलेटर, ५ वटा आईसियु र २२ वटा जनरल बेड तयारी अवस्थामा रहेका छन्, भने अहिले २९ जना कोरोना संक्रमित व्यक्ति उपचारका लागि भर्ना भएका छन् ।