कपिलवस्तु नगरपालिकाको सातौ नगर सभा सम्पन्न

[sharethis-inline-buttons]

संगीता भुसाल, तौलिहवा ।

कपिलवस्तु नगरपालिकको आ.व.२०७७ ∕ ०७८ को बार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आज कपिलवस्तु नगरपालिकाको सभा हलमा सातौ नगर सभामा समृद्धि नगर खुशी नगरवासी स्थिर र दिगो विकासको गती भन्ने मुल नाराका साथ कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हरी प्रसाद ज्ञवालीले बार्षिक नीति तथा कार्यक्रम प्रस्तत गरेका थिए ।

नगरको बार्षिक नीति तथा कार्यक्रममा नगरको पुर्वाधार बिकास, आर्थिक विकास, पशु, कृषि, सहकारी, उद्योग व्यवसाय ,पर्यटन तथा ऐतिहासिक एवम् धार्मिक स्थलको संरक्षण, दातृ निकायसँग सहकार्य त्यस्तै गरी श्रम तथा रोजगार लगाएतका कुराहरु समावेश गरिएको छ । नगरपालिकाले कोरोना भाइरसका कारण स्वदेश तथा विदेशमा रोजगारी गुमाएकाहरुलाई प्राथमिकता राख्ने बताएको छ ।

यस्तै शिक्षा युवा तथा खेलकुद ,बहुक्षेत्रिय पोषण योजना, महिला बालबालिका तथा जेष्ठ नागरीक एवम लैगिंक समानता, खानेपानी तथा सरसफाई,बन बातावरण, शुशासन तथा संस्थागत विकास र सुचना तथा संचार प्रविधी लगायतका बिषयहरु कार्यक्रममा राखेको छ ।आर्थिक वर्ष २०७६ ∕ ०७७ मा हुन नसकेका योजना तथा कार्यक्रमहरुलाई यो आर्थिक वर्षमा समावेश गरिएको छ ।

नगर प्रमुख किरण सिंहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर उप प्रमुख लक्ष्मी कसौधन, वडाध्यक्ष, नगरकार्यपालिका सदस्य, वडा सदस्य लगायतको उपस्थिति रहेको थियो ।


प्रकाशित : २०७७ असार १०, बुधबार १६:१३