थानेश्वर अधिकारी, बुटवल, २९ असार ।
प्रदेश ५ सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बरालले महिला स्वास्थ्य सुधारका लागि महिलालाई आत्मनिर्णय अधिकार दिनुपर्ने बताएका छन् । यौन हिंसा घटाउन विद्यालय तहमा प्रजनन शिक्षा आवश्यक रहेको साथै स्वास्थ्य र प्रजनन शिक्षालाई विद्यालय तहमै समावेश गर्न सके किशोरी स्वास्थ्यमा समेत सुधार आउने उनले बताए ।
विद्यालयबाट दिइने शिक्षा प्रभावकारी हुने भन्दै उनले त्यसका लागि प्रदेश सरकारले पाठ्यक्रम, पाठ्यपुस्तक र अभ्यास सुरु गर्ने तयारी गरेको बताए । प्रजनन स्वास्थ्य सुधारका लागि अब स्वास्थ्य सेवालाई महिला तथा किशोर किशोरीमैत्री बनाउन र स्वास्थ्यलाई परिवार तहसम्म पुर्याउन समेत योजना ल्याउने उनले बताए ।
युएनएफपिएको सहयोगमा सिद्धार्थ सामाजिक विकास केन्द्र कपिलवस्तुले सोमबार बुटवलमा आयोजना प्रदेशसभा सदस्यका लागि महामारी तथा विपदको अवस्थामा महिला तथा किशोरीको स्वास्थ्य तथा अधिकार सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री बरालले यस्तो बताएका हुन् । विपद्को समयमा हुने स्वास्थ्य समस्यालाई सम्बोधन गर्न विपद् स्वास्थ्यबारे छुट्टै नीति बनाउन लागेको बताउँदै उनले हरेक कुरा गर्दै सिक्दै जाँदा प्रभावकारी हुने बताए ।
कार्यक्रममा सहजीकरण गर्दै अधिकारकर्मी डा.रेणु अधिकारी राज भण्डारी महिला स्वास्थ्यलाई सामाजिकीकरण नगर्दासम्म प्रजनन स्वास्थ्यमा सुधार नहुने बताइन् । सामाजिक संरचनाका कारण किशोरी तथा महिलाले विवाह, प्रजनन अधिकार सहित हिंसा विरुद्ध बोल्ने र आफ्नो स्वास्थ्यबारे खुलेर उपचार गर्न नसक्ने अवस्था रहेको बताउँदै उनले यसमा परिवर्तन जरुरी रहेको बताइन् । सुधारका लागि आधारभूत स्वास्थ्य सेवालाई पीडितमैत्री बनाउन र प्रजनन स्वास्थ्यलाई महिला अधिकार सित जोडेर अगाडि बढाउन उनले सुझाव दिइन् ।
कार्यक्रममा बोल्दै भौतिक पूर्वाधार विकास समिति सभापति आशा स्वर्णकारले परिवार स्वास्थ्य र नियोजनका साधनको उपलब्धता र उपयोगबारे ग्रामीण तहसम्म पहुँच बढाउन सके प्रजनन स्वास्थयमा सुधार हुने बताइन् । युएनएफपिएका प्रदेश संयोजक राम थापाले स्वास्थ्य, शिक्षा र अधिकारलाई संगै जोडेर लैजान सके किशोरी र महिला स्वास्थ्यमा सुधार हुने बताए ।
सामाजिक विकास समिति सभापति दीर्घनारायण पाण्डेको अध्यक्षता एवं सिद्धार्थ सामाजिक विकास केन्द्रका पुर्व अध्यक्ष पोमनारायण पौडेलको सहजीकरण रहेको कार्यक्रमा प्रदेशसभा सदस्य रमा अर्याल, पुरण बज्राचार्य, दीपा विश्वकर्मा, गीता थापा, अर्जुन कुमार के.सी.लगायतले किशोरी महिला स्वास्थ्य र प्रजनन स्वास्थ्यबारे सुझाव दिएका थिए