कपिलवस्तुमा सीमामा खटिएका सशस्त्र प्रहरीलाई १३ वर्षपछि सुरक्षित आवास

[sharethis-inline-buttons]

लुदअ भदौ २७, कपिलवस्तु
सीमा सुरक्षा, तस्करी नियन्त्रण तथा शान्ति सुरक्षाका लागि खट्दै आएका कपिलवस्तुमा सशस्त्र प्रहरीले १३ वर्षपछि सुरक्षित आवास पाएका छन्। विजय नगर गाउँपालिका–५ डालपुर र कृष्णनगर नगरपालिका–६ भिल्मीमा भवन निर्माण भएपछि सशस्त्र प्रहरीलाई सजिलो भएको छ। यसअघि उनीहरू पुरानो तथा जीर्ण भवनमा बसेर काम गर्दै आएका थिए। नव निर्मित भवनमा कार्यालय, जवान ब्यारेक, वास सुविधासहितको शौचालयसमेत रहेको छ। नव निर्मित दुई बिओपी बोर्डर आउट पोस्ट भवनको शुक्रबार उद्घाटन गरिएको छ। विन्दवासिनी बाहिनी प्रदेश ५ का बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक किशोर प्रधानले भवन उद्घाटन गरेका छन्।

भवन उद्घाटन गर्दै बाहिनीपति प्रधानले जनतालाई शान्ति सुरक्षाको प्रत्याभूति हुने गरी काम गर्न समेत अनुरोध गरेका थिए। डालपुरमा १३ वर्षअघिदेखि सुरक्षा बेस स्थापना सञ्चालनमा रहेको थियो। २०६४ सालमा कपिलवस्तुका चर्चित नेता मोइद खाँको हत्यापछि भड्किएको हिंसालाई नियन्त्रण गर्न डालपुरमा सशस्त्र प्रहरीको सुरक्षा बेस स्थापना गरिएको थियो। २०७५ माघ २ मा नेपाल सरकारको निर्णयअनुसार बिओपीको रूपमा स्तारोन्नति भएको थियो।

भिल्मीमा २०७० सालमा बिओपी स्थापना भए पनि सुरक्षित भवनको प्रबन्ध रहेको थिएन। डालपुरको भवन एक करोड ९३ लाख र भिल्मीमा रहेको भवन ७५ लाख ९० हजार रुपैयाँको लागतमा निर्माण भएको सशस्त्र प्रहरी बल २८ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक ध्रुवबहादुर कार्कीले बताए। भवन निमार्णपछि सशस्त्र प्रहरीलाई काम गर्न अझ सजिलो हुने विजयनगर गाउँपालिकाका उपाध्यक्ष लक्ष्मीकुमारी चौधरीले बताइन्। डालपुरमा बिओपी निर्माणका लागि स्थानीयले १४ लाख रुपैयाँ संकलन गरेर १८।५ कट्ठा जग्गा खरिद गरी हस्तान्तरण गरेका थिए।


प्रकाशित : २०७७ भाद्र २७, शनिबार ०९:१६