नेकपा संसदीय दलद्धारा प्रदेश नं ५ को स्थायी राजधानी भालुवाङको पक्षमा मतदान गर्ने निर्णय

[sharethis-inline-buttons]

लुदअ, बुटवल ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश संसदीय दलको बैठकले प्रदेशको स्थायी राजधानी दाङको देउखुरी क्षेत्रमा बनाउन प्रदेश सभामा दर्ता भएको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

शनिबार बिहान शुरु भएर दिउँसो सकिएको बैठकले सबै सभासदहरुले प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको उक्त पार्टीको संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले बताए । प्रदेश मन्त्री परिसद्को निर्णय लगत्तै शुक्रबार उक्त प्रस्ताव प्रदेश सभामा दर्ता भएको थियो ।

बैठकमा कतिपय सभासदहरुले असहमतिका धारणाहरु पनि राखेका थिए । प्रमुख सचेतक ढकालका भनाईमा सभासदहरुले खुलेर आआफ्ना धारणा राख्नु भनेका थिए । तर अन्तिममा मतदानका बेला प्रदेश सभामा पार्टीका सबै सभासद एक हुने र प्रस्तावका पक्षमा मतदान गर्ने निर्णय भएको छ । आबश्यक पर्दा पार्टीले सभासदहरुलाई ह्वीप पनि लगाउन सक्ने ढकालले बताए । बैठक संसदीय दलका नेता एवं मुख्यमन्त्री शंकर पोखरेलको निवास डिभिजन सडक कार्यालय परिसरमा बसेको थियो ।

बैठकमा मुख्यमन्त्री पोखरेलले प्रस्तावका पक्षमा एकमत हुन र मतदान गर्न सांसदहरुलाई निर्देशन दिएका थिए । प्रदेश ५ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ६१, बिपक्षी नेपाली कांग्रेसका १९, मधेस केन्द्रित दलका ६,राष्ट्रिय जनमोर्चाका १ सहित ८७ जना सभासदहरु रहेका छन् । गोरखापत्रबाट साभार


प्रकाशित : २०७७ आश्विन १७, शनिबार १०:२४