लुदअ कपिलवस्तु, १८ चैत्र
कोरोना भाईरसको संक्रमण रोक्न नेपाल सरकारले आह्वान गरेको लक डाउनको अवस्थामा सर्वसाधारणलाई दैनिक उपभोग्यवस्तु घर दैलोमै उपलब्ध गराउन यशोधरा गाउंपालिकाले प्रयास थालेको छ । गाउं कार्यपालिकाले दैनिक उपभोग्य वस्तुहरु आलु, प्याज, किराना वस्तु र साग सब्जी आपुर्तिका लागि गाउंपालिकाका स्थानीय व्यवसायीहरुलाई घरदैलोमै पुगरे विक्री वितरण गर्ने प्रवन्ध गरेको गाउंपालिकाका प्रमुख गिरिजेश कुमार पाण्डेयले बताए ।
आलु प्याज विक्री वितरणका लागि हबिबुल्लाह मुसलमान, किराना सामाग्री विक्री वितरणका लागि राकेश यादव र हरियो साग सब्जी विक्री वितरणका लागि दिपक गुप्तालाई जिम्मेवारी दिईएको गाउंपालिकाले जनाएको छ ।
उनीहरुले अब गाउंपालिकाका आठ वटै वडाहरुमा गएर सहज ढंगबाट दैनिक उपभोग्य वस्तुहरु विक्री वितरण गर्ने छन्, गाउंपालिका अध्यक्ष पाण्डेयले भने, “अव गाउंपालिकावासीलाई दैनिक उपभोग्यवस्तु खरिद गर्नका लागि बजार सम्म जानु पर्दैन ।” दैनिक उपभोग्य वस्तुहरु घर दैलोमै उपलब्ध हुन सके सर्वसाधारणहरुले लक डाउनको अवस्थालाई पूर्ण पालना गरी कोरोना भाईरसको संक्रमणलाई रोक्न सघाउ पुग्ने अपेक्षा गरिएको यशोधरा गाउंपालिकाका युवा नेता तथा जिल्ला समन्वय समितिका सदस्य अनुप कुमार पाण्डेयले बताए ।