थानेश्वर अधिकारी ।
रुकुम –पूर्व मा बृहत यौनिकता शिक्षा सम्बन्धि जिल्ला स्तरीय समिति गठन भएको छ । शिक्षा विकास तथा समन्वय इकाई रुकुम –पूर्वका इकाई प्रमुख तिलक गौतमको संयोजकत्वमा १५ सदस्यिय समिति गठन गरिएको छ ।
जसको सदस्य सचिवमा यूएनएफपिएका जिल्ला संयोजक भुवन सेजुवाल रहेका छन् भने अन्य सदस्यमा रहेका छन् । समितिमा भूमे र सिस्ने गाउँपालिकाको शिक्षा शाखा र स्वास्थ्य शाखाका प्रमुख एवम् प्रतिनिधि, विभिन्न विद्यालय प्र.अ. तथा प्रतिनिधि गैरसरकारी संघसंस्थाका प्रमुख एवम् प्रतिनिधिका साथै पत्रकार सो समितिको सदस्यमा रहेका छन् ।
किशोर किशोरी मैत्री विद्यालय र समाज निर्माणको लागि यो समितिले जिल्लामा काम गर्ने छ । अहिले प्रमुख समस्याको रुपमा देखा परेको बाल विवाह र त्यसले निम्त्याउने समस्याहरुको समाधानका लागि जिल्लामा समिति गठन गरी काम थालिने सिद्धार्थ सामाजिक विकास केन्द्रका कार्यसमिति सदस्य हरी अधिकारीले बताएका छन् । चुनौतीको रुपमा रहेको बाल विवाह र त्यसले निम्त्याउने समस्या समाधानको लागि भन्दै लुम्बिनी प्रदेशमै पहिलो पटक रुकुम –पूर्व बाट काम थालनी गरिएको उनले बताएका छन् । समिति गठनको कार्यक्रम अघि बृहत यौनिकता शिक्षा सम्बन्धि जिल्लाको अवस्था समस्या, चुनौती र समाधानको उपायको बारेमा छलफल गरिएको थियो ।
छलफलमा सहभागी सबैले जिल्लामा किशोर किशोरी मैत्री विद्यालय र समाज निर्माण गर्न अति आबश्यक रहेको बताएका छन् । त्यसको लागि किशोर किशोरीहरुलाई किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा दिने, सचेतना अभिबृद्धि गर्ने, नेतृत्व तहको सहभागितामा जोड दिने जस्ता कार्य गनुपर्नेमा छलफलमा सहभागिहरुले जोड दिएका छन् ।
कार्यक्रमका प्रमुख अतिथी शिक्षा तथा सामाजिक विकास निर्देशनालय लुम्बिनी प्रदेशका निर्देशक टिकाराम अर्यालले यौनिकता शिक्षालाई सबैले सकारात्मक रुपले बुझिदिनुपर्ने बताएका छन् । यौनिकता शिक्षालाई फराकिलो रुपमा बुझेमा मात्र त्यसले मानिसलाई स्वास्थ हुन मदत गर्ने उनको भनाई रहेकोछ ।
यौनिकता सम्बन्धिको शिक्षाले मानिसको जिवन सहज र सरल बनाउछ । वृहत क्षेत्र ओगटेको यस विषयले स्वास्थ्यलाई व्यवस्थित गर्छ, निर्देशक अर्यालले भन्नुभयो । रुकुम –पूर्व बाट सुरु भएको यो अभियान नमुना र प्रभावकारी होस भन्दै उहाँले नव गठित समितिलाई सक्रिय भएर काम गर्न आग्रह गरेका छन् ।
शिक्षा विकास तथा समन्वय इकाई रुकुम –पूर्व, सिद्धार्थ सामाजिक विकास केन्द्र कपिलवस्तु र यूएनएफपिएको संयुक्त आयोजना र लुम्बिनी प्रदेशको समन्वयमा आयोजना गरिएको कार्यक्रम शिक्षा विकास तथा समन्वय इकाई प्रमुख तिलक गौतमको अध्यक्षता, शिक्षा तथा सामाजिक विकास निर्देशनालय लुम्बिनी प्रदेशका निर्देशक टिकाराम अर्यालको प्रमुख आथित्यता र सिद्धार्थ सामाजिक विकास केन्द्रका निवर्तमान अध्यक्ष एवम् सल्लाहकार पोमनारायन पौडेलको सहजीकरणमा सम्पन्न भएको कार्यक्रम संयोजक जियाउल हकले बताएका छन् ।
यसै गरी सिस्ने गाउँपालिकामा सुरक्षित आवास गृह समन्वय समितिको बैठक सम्पन्न भएको छ भने सिस्ने गाउँपालिका र भुमे गाउँपालिकामा सुचना व्यवस्थालाई प्रभावकारी बनाउन ल्यापटप हस्तान्तरण गरिएको कार्यक्रम संयोजक हकले बताएका छन् ।