
नविन भण्डारी कपिलवस्तु, पुस १२
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नंं. २ वडा कार्यालयले वडाका ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरि ८० बर्ष पुगेका ९२ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको वडाध्यक्ष बिष्णु पौडेलले जानकारी दिएका छन् । वडा कार्यालयको आर्थिक बर्ष २०७७/७८ को ज्येष्ठ नागरिक लक्षित कार्यक्रम अन्तर्गत विनियोजन गरिएको १ लाख बजेटबाट उक्त कार्यक्रम गरिएको वडा सचिव नरेन्द्र प्रसाद पोख्रेलले लुम्बिनी दर्पणलाई बताए । प्रत्येक ज्येष्ठ नागरिकलाई सम्मान स्वरुप टिका खादा सहित एक/एक किलो च्यावनप्रास प्रदान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि नगर उपप्रमुख चक्रपाणि अर्यालले नगरपालिकाका सबै वडाले ज्येष्ठ नागरिकलाई सम्मान गर्ने बताउदै यो कार्यक्रमलाई निरन्तरता दिने बताए । उनले नगरपालिकाका सम्पुर्ण ज्येष्ठ नागरिकलाई सम्मान गर्ने दायित्व जनप्रतिनिधिको रहेकाले वडा नं. २ लाई धन्यवाद व्यक्त गरे ।
त्यस्तै वडाध्यक्ष बिष्णु पौडेलले हामी सबै वृद्धवृद्धा हुने अवस्था आउने भन्दै सम्पुर्ण ज्येष्ठ नागरिकको सु–स्वास्थ्य दिर्घायुको कामना गरे । कार्यक्रमका अध्यक्ष समेत पौडेलले भौतिक विकास निर्माणले मात्र वडा संमृद्ध नहुने भन्दै विकास निर्माणसंगै लक्षित वर्गका कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडि बढाईएको बताए । अहिले सम्मान गरेका ज्येष्ठ नागरिकहरुलाई अर्को बर्ष पनि निरन्तर रुपमा सम्मान गरिने बताए । वडाध्यक्ष पौडेलले वडाका सम्पुर्ण वालवालिका, वृद्धवृद्धाहरुका लागि विभिन्न कार्यक्रम ल्याउने लुम्बिनी दर्पणलाई बताए ।
वडाका चालु आर्थिक बर्षका योजनाहरु क्रमशः प्रभावकारी रुपमा सम्पन्न गर्दै अगाडि बढेको वडा सचिव नरेन्द्र प्रसाद पोख्रेलले बताए ।
कार्यक्रममा वडाका जनप्रतिनिधि, वडा नं. ९ का वडाध्यक्ष धुर्व बेल्बासे, वडा नंं. ११ का वडाध्यक्ष सोमनाथ अर्याल, कर्मचारी, ज्येष्ठ नागरिक तथा संचारकर्मी लगायतको उपस्थिती रहेको थियो । वडा सदस्य बिमला परियारको स्वागत मन्तब्य तथा वडा सचिव नरेन्द्र प्रसाद पोख्रेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।