
लुदस
परासी, २५ बैशाख
जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले सुनवल नगरपालिकाको जर्गाहा स्थित पानभार खोला र सुनवलस्थित तुरिया खोलामा नदीजन्य पदार्थ उत्खनन्मा रोक लगाएको छ । नगरपालिकाले उक्त खोलाहरुमा ठेक्का लगाएको छ । जथाभाविरुपमा स्काभेटर प्रयोग गरेर नदीजन्य पदार्थको दोहन गरेको गुनासो बढेपछि उत्खनन्मा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले जानकारी दिए । विगत १५ दिन अघिदेखि उक्त खोलाहरुबाट स्काभेटर प्रयोग गरेर नदीजन्य पदार्थ उत्खनन् गरिर्दै आइएको थियो । निषेधाज्ञाको समयमा अन्य क्षेत्र बन्द हुने तर खोला दोहन बन्द नहुने भन्दै स्थानीले प्रशासनको आलोचना गर्दै आएका थिए ।
जिल्ला विपद् व्यवस्थापन समितिले खोलाहरुमा थुप्रिएको नदीजन्य पदार्थबाट विपद् निम्तन सक्ने भन्दै राष्ट्रपति चुरे– तराई मधेस संरक्षण समितिमा स्काभेटर प्रयोग गर्नका लागि सिफारिस गरेको थियो । सोही सिफारिसअनुसार समितिले मेशिन प्रयोग गर्न दिएको थियो । स्थानीयका अनुसार नदीजन्य पदार्थले कुनै जोखिम आउने संभावना थिएन तर नगरपालिको सहमतिमा विपद् व्यवस्थापन समितिले सिफारिस दिएको भन्दै आश्चर्य व्यक्त गरेका छन् ।
खोलामा ३ वटा स्काभेटर प्रयोग गरेर नदीजन्य पदार्थ उत्खनन्को अनुमति दिइएको जिल्ला समन्वय समितिका प्रमुख शिवशंकर रायले बताए । तर ठेकेदारले भने ५ देखि ७ वटासम्म स्काभेटर लगाएर बिहानदेखि रातिसम्म नदीजन्य पदार्थ उत्खनन् गर्दै आएका थिए । सोही गुनासो प्रशासनमा पुगेपछि प्रमुख जिल्ला अधिकारीले शनिबारदेखि उत्खनन्मा रोक लगाएका हुन् । समितिको २०७८ बैशाख १३ गतेको अनुमति पत्रमा पानभार खोलाबाट ३३ हजार ८ सय ६ घनमिटर नदीजन्य पदार्थ निकाल्न अनुमति दिएको छ । तर ठेकेदारले त्यो भन्दा बढी नदीजन्य पदार्थ निकालेर डम्पिङ गर्ने र बिक्री गर्दै आएको स्थानीयको आरोप छ

