शरीरमा अक्सिजनको मात्रा सन्तुलन राख्ने उपाय

ByLumbini Darpan Online

३१ बैशाख २०७८, शुक्रबार ०९:२९ ३१ बैशाख २०७८, शुक्रबार ०९:२९ ३१ बैशाख २०७८, शुक्रबार ०९:२९

साभार – उज्यालो समाचार

अक्सिजनलाई आयुर्वेद र परम्परागत भाषामा प्राण वायु भनेर बुझ्न सकिन्छ । जीवन र मृत्युको बीचमा रहेको वस्तु नै प्राण हो । यही प्राण जोगाउनका लागि आवश्यक पर्ने हावालाई प्राण वायु भनिन्छ । प्राण वायुको महत्व यसको शब्दबाट पनि स्पष्ट हुन्छ । मुख्यतया अक्सिजन वातावरणबाट नै पाइन्छ । तर ९२ प्रतिशत व्यक्तिले प्रदूषित हावा लिइरहेका विभिन्न अध्ययनले पुष्टि गरेको छ ।

हामीले श्वास फेर्दा वातावरणमा भएको अक्सिजन फोक्सोको माध्यमबाट शरीरभित्र पुग्छ । शरीरभित्र गएर शक्ति दिने लगायतका सबै काम सकेर फेरि कार्बनडाइअक्साइडको रुपमा बाहिर फर्कन्छ । शरीरभित्र अक्सिजन पुर्याउने र फेरि कार्बनडाइअक्साइडको रुपमा बाहिर फाल्ने काम फोक्सोको मद्दतमा हुन्छ ।

फोक्सोमा समस्या भएमा प्राकृतिक रुपमा रहेको अक्सिजनलाई शरीरमा छिराउन नसक्ने भएकाले अक्सिजनको मात्रा घट्छ । स्याँस्याँ हुने, निमोनिया, टिबी लगायतका रोगहरुले फोक्सोमा असर गर्छ र आवश्यक पर्ने जति अक्सिजन शरीरमा पुर्याउन सक्दैन ।

कोरोना भाइरसले सबैभन्दा धेरै फोक्सोमा असर गर्छ
कोरोना भाइरसले पनि सबैभन्दा धेरै असर गर्ने भनेको फोक्सोमा हो । फोक्सोमा असर परेपछि आवश्यकता अनुसार प्रकृतिमा रहेको अक्सिजनलाई शरीरभित्र पुर्याउनका लागि असक्षम हुन्छ । जसको कारण शरीरमा अक्सिजनको मात्रा घट्छ ।

अहिले हामीले कोरोना भाइरस भन्ने शब्द सुनिरहेका छौँ । कोरोना भाइरस संक्रमण सुरु हुनुभन्दा अगाडिको समयमा र कोरोना पछिका समयमा पनि शरीरमा अक्सिजनको मात्रा घट्न सक्छ । वातावरण प्रदूषण्, धुलोधुवाँको मात्रा वातावरणमा धेरै हुनु र फोक्सोले सन्तुलित रुपमा काम गर्न नसक्दा अक्सिजनको मात्रा शरीरमा घट्न सक्छ ।

कोरोना भाइरस संक्रमणले फोक्सो खराब गर्ने भएकाले शरीरमा अक्सिजनको मात्रा कम हुने गरेको हो ।

फोेक्सोलाई प्राकृतिक रुपमा राख्नका लागि वातावरण सफा र स्वच्छ राख्नुपर्छ । जसले गर्दा वातावरणमा भएको अक्सिजन शुद्ध हुुन्छ । अर्को भनेको वृक्षरोपण गर्नुपर्छ । पहिला पहिला हाम्रो गाउँघरमा स्वामी, पिपल, बर लगायतका रुख रोप्ने चलन थियो ।

उहिलेका मानिसहरु दूरदर्शी भएकाले भविष्यमा वातावरणमा अक्सिजनको मात्रा बढाउन भूमिका खेल्ने र २, ३ सय वर्षसम्म आयु हुने यस्ता बोटबिरुवा रोप्ने गर्थे ।

शरीरमा अक्सिजनको मात्रा सन्तुलनमा राख्न के गर्ने रु
शरीरमा अक्सिजनको मात्रा सन्तुलित रुपमा राख्नका लागि फोक्सोलाई जोगाउनु पर्छ । वातावरण स्वच्छ राख्ने, वृक्षारोपण गर्ने लगायतका कामले दीर्घकालीन रुपमा फाइदा पुर्याउने भए पनि अहिलेको आवश्यकता भनेको तत्कालका लागि शरीरमा अक्सिजनको मात्रा बढाउनु हो । त्यसका लागि फोक्सोलाई नियमित राख्ने कोसिस गर्नुपर्छ ।

विभिन्न खालका जडिबुटीले फोक्सोलाई विकृत बनाउनबाट रोक्न सक्छ । त्यस्ता जडिबुटीको प्रयोगले फोक्सो बिगार्ने खालका रोगहरुलाई कम गराउनुका साथै फोक्सो बचाउनका लागि सहयोग पुर्याउँछ । अक्सिजनको मात्रा घट्दै गएर सुन्निएको फोक्सोलाई सामान्य राख्नका लागि सहयोग पुर्याउँछ ।

अहिलेको अवस्थामा अरु केही नसके पनि हाम्रो भान्सामा पाइने कुराहरु जस्तै, तीन, चार वटा दालचिनी, अलिकति बेसार र चार, पाँचवटा तुलसीको पातलाई पकाएर बिहान र बेलुका एक÷एक कप खान सकिन्छ ।

लक्षण बिनाको कोरोना संक्रमण भएर घरमै बसेका र अरु व्यक्तिले पनि खाँदा राम्रो हुन्छ । यसले फोक्सोलाई नोक्सान हुनबाट रोक्छ । यसो भन्नुको अर्थ शरीरमा एक्कासी अक्सिजनको मात्रा घटेमा पनि यही चिज खाएर बसेर हुँदैन । फोक्सो बिग्रन नदिनका लागि गरिने यो एउटा उपाय मात्रै हो ।

अहिलेको अवस्थामा मात्र नभई रुघा लागेको बेलामा पनि दिनमा एक पटक दुई वटा पात असुरो, बेसार र पिप्ला २ दाना हालेर पकाएर दिनको एक गिलास खाए पनि शरीरलाई फाइदा पुर्याउँछ । यसरी नियमित रुपमा पिउनाले फोक्सोमा हुने खराबीलाई कम गर्न सहयोग पुर्याउँछ । यसले शरीरमा अक्सिजन शोषण गर्न सक्ने क्षमताको विकास हुन्छ ।

प्राणायाम गरौं
प्राणायामले हाम्रो फोक्सोलाई मजबुद बनाउन मद्दत पुर्याउँछ । यो तीन तरिकाले गर्न सकिन्छ । पहिला श्वासलाई भित्र तान्ने । यसो गर्दा विस्तारै लामो श्वास लिनुपर्छ । त्यसपछि लामो तानेको श्वासलाई रोकिराख्नुपर्छ । जतिसक्यो लामो समय रोकिराख्नुपर्छ ।

स्वस्थ व्यक्तिले ३०, ४० सेकेन्डदेखि १ मिनेटसम्म रोकिराख्न सक्छ । फोक्सोको रोगी छ भने उसले १० सेकेन्ड अथवा २० सेकेन्डसम्म रोक्न सक्छ । त्यसपछि बिस्तारै श्वास छोड्नुपर्छ । बिहान र बेलुकाको समयमा पाँचरपाँच मिनेट यस्तो प्राणायाम गरेमा फोक्सोको लागि एकदमै राम्रो हुन्छ ।

अरु कुरामा हामी धेरै सचेत छौँ । शारीरिक अभ्यासहरु गरिरहेका हुन्छौँ । त्योसँगै फोक्सोको ख्याल गर्न पनि यस्ता खालका खानपीन र योगाभ्यासमा ध्यान दिनुपर्छ ।

शरीरमा अक्सिजनको मात्रा ९२ देखि ९५ को बीचमा छ भने यस्ता क्रियाकलापहरु गर्न सकिन्छ । तर अक्सिजनको मात्रा ९०, ९२ भन्दा पनि कम छ भने जतिसुकै व्यायामहरु गरे पनि काम गर्दैन ।
९० को आसपासमा अक्सिजनको मात्रा आइसकेको छ भने तुरुन्त घोप्टो परेर सुत्नुपर्छ । त्यसरी सुत्दा २ देखि ५ मिनेट भित्र अक्सिजनको मात्रा केही बढाउन सकिन्छ ।

तर अक्सिजन चाहिने अवस्थामा आइसकेका व्यक्तिहरुलाई बाफ लिएर, जडीबुटी खाएर वा सुँघेर हुँदैन । ९० वा ९२ भन्दा तल अक्सिजनको मात्रा पुगेको बेला मेरो फोक्सोले बाहिर भएको अक्सिजनलाई कुनै पनि रुपमा भित्र लगेर ब्लड सर्कुलेशन गराउन सक्दैन भनेर बुझ्नुपर्छ ।

अस्पतालको बेड कतै पाइएको छैन र अक्सिजनको मात्रा ९५ भन्दा कम भइसकेको अवस्थामा गर्नुपर्ने पहिलो काम भनेको घोप्टो परेर सुत्नु हो । घोप्टो परेर छातीलाई दबाब दिएर सुत्नुपर्छ । आवश्यकता परेमा पेट वा छातिमा सिरानी राखेर सुत्न सकिन्छ । अरु केही जानेको छैन भने जहाँ बेड भेटिन्छ त्यहाँ घोप्टो परेर सुत्दा अक्सिजनको मात्रा बढाउन सकिन्छ ।

अक्सिजनको मात्रा सामान्य अवस्थामा आइसकेको छ भने नियमित रुपमा प्राणायाम गरेमा हाम्रो फोक्सोलाई प्राकृतिक रुपमा सामान्य अवस्थामा आउन पनि मद्दत गर्छ । तर अक्सिजनको मात्रा ९० भन्दा घटिसकेको छ भने स्वास्थ्यकर्मीको मद्दतमा अस्पताल नै जानुपर्छ ।

 

(आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. वासुदेव उपाध्यायसँग गरिएकाे कुराकानीमा आधारित)

साभार – उज्यालो समाचार

 

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *