उदय पोख्रेल ,जीतपुर। कपिलवस्तु बाणगङ्गा -४,ठाकुरापुरका दुईवटा सामाजिक संस्थाले दैवीप्रकोपबाट प्रभावित नागरिकको उद्धार तथा राहतमा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रु. ४५ हजार सहयोग गरेका छन्।
कल्याणकारी आमा समूहले रु. ३० हजार र नवप्रभात युवा क्लबले रु. १५ हजार गरी कुल रु. ४५ हजार रकम बैंकमार्फत कोषमा जम्मा गरेका हुन्।
विपद्का समयमा प्रभावित नागरिकलाई राहत तथा सहयोग पुर्याउने सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम सहयोग गरिएको सम्बन्धित संस्थाले जनाएका छन्। सहयोग संकलन तथा उपलब्ध गराउने कार्यमा नवप्रभात युवा क्लबका अध्यक्ष मिलन चालिसे र कल्याणकारी आमा समूहकी अध्यक्ष दुर्गा देवी रेग्मीको नेतृत्व तथा पहल रहेको थियो।
दैवीप्रकोपका कारण समस्यामा परेका नागरिकलाई तत्काल राहत तथा सहयोग आवश्यक रहेकाले आफ्नो क्षमताअनुसार सहयोग गरिएको दुवै संस्थाले बताएका छन्।

ठाकुरापुरमा सामाजिक तथा मानवीय गतिविधिमा सक्रिय यी संस्थाहरूले विगतदेखि नै समुदायको हित, सामाजिक सेवा तथा आवश्यकतामा परेका नागरिकलाई सहयोग गर्दै आएका छन्। विपद्का समयमा समेत सामाजिक संस्थाहरूको भूमिका अझ प्रभावकारी बनाउँदै प्रभावित नागरिकलाई सहयोग गर्ने प्रतिबद्धता उनीहरूले व्यक्त गरेका छन्।
उद्धार तथा राहत कार्यमा सहयोग पुग्ने अपेक्षासहित गरिएको उक्त योगदानले सामाजिक उत्तरदायित्व, मानवीय सेवा र सामुदायिक एकताको सकारात्मक सन्देश दिएको छ। सहयोगका लागि संस्थाका सदस्य, पदाधिकारी तथा शुभेच्छुकप्रति दुवै संस्थाले आभार व्यक्त गरेका छन्।




















