
गुल्मीमा एक गर्भवतीसहित आज चार जना संक्रमितको मृत्यु भएको छ । जिल्लाको सत्यवती गाउँपालिका वडा नम्बर चारकी २१ वर्षकी सात महिनाकी गर्भवतीको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । यस्तै सोही गाउँपालिका वडा नम्बर दुईकी ६५ वर्षीया महिलाको पनि उपचार क्रममा प्रभासमा नै मृत्यु भएको छ । यस्तै सोही गाउँपालिका वडा नम्वर ६ का ५७ वर्षीय पुरुषको पोखरामा उपचार क्रममा मृत्यु भएको छ । रेसुंगा नगरपालिका वडा नम्वर दुईका ८० बर्षीय वृद्धको गएराति उपचार क्रममा गुल्मी अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख डाक्टर भवानीप्रसाद शर्माले जानकारी दिए । योसँगै गुल्मीमा संक्रमणका कारण मृत्यु हुनेको संख्या ७४ पुगेको छ । जिल्लामा अहिले सक्रिय संक्रमितको संख्या ७८३ जना रहेको स्वास्थ्य कार्यालय गुल्मीले जनाएको छ । हालसम्म एक हजार १ सय २४ जना संक्रमित निको भएका छन् ।

