घट्दै कोरोना संक्रमण दर, विज्ञ भन्छन्- असारदेखि निषेधाज्ञा खुकुलो पार्न सकिन्छ

[sharethis-inline-buttons]
Image XYZ Image XYZ

काठमाडौं, जेठ १६

नेपालमा पछिल्ला केही दिनमा कोरोनाभाइरसको संक्रमण घट्दै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो साताको तथ्यांक हेर्दा नयाँ संक्रमित थपिने क्रम निरन्तर घटेको देखिन्छ। हिजो शनिबार १४ हजार ७ सय ५२ जनाको परीक्षण गर्दा ४ हजार ४८७ जनामा संक्रमण पुष्टि भयो। अर्थात ३०.४१ प्रतिशतमा संक्रमण देखियो।

अघिल्लो सातासम्म परीक्षण गरिएकामध्ये ५० प्रतिशतभन्दा बढीलाई संक्रमण देखिने गरेको थियो। गत वैशाख २७ गते १८ हजार ४११ जनाको परीक्षण गर्दा ९ हजार २७१ जनामा संक्रमण पुष्टि भयो। अर्थात ५०.३५ प्रतिशत मानिसमा संक्रमण देखियो। जुन हालसम्मकै सर्वाधिक संक्रमण दर हो।

वैशाख दोस्रो सातादेखि बढ्न थालेको संक्रमण दर महिनाको अन्तिमसम्म आइपुग्दा संक्रमणको स्थिति निकै नै भयावह भयो। उक्त अवधिभर अस्पताल संक्रमितले खचाखच भरिए। अक्सिजनको चरम अभावका कारण कतिले भर्ना पाएनन् र केहीले बाटोमै ज्यान गुमाए। अहिले पनि धेरै अस्पतालमा संक्रमितको चाप उस्तै छ।

तर पछिल्लो सातादेखि भने अस्पतालहरूमा बिरामीलाई बाहिरै राखेर उपचार गर्नुपर्ने स्थिति छैन। केही समयअघिसम्म टेकु, टिचिङ अस्पतालले बेड नभएपछि संक्रमितलाई भुइँमै राखेर उपचार गरेका थिए। अहिले भने संक्रमितलाई भुइँमै राखेर उपचार गर्नु नपरेको ती अस्पतालले जनाएका छन्।

पछिल्लो सातादेखि संक्रमण निरन्तर घटेका कारण अस्पतालमा पनि बिरामीको चाप केही कम भएको हो। मन्त्रालयको तथ्यांकअनुसार गत जेठ ९ गतेदेखि संक्रमण दर क्रमशः घट्दै गएको देखिन्छ। जेठ ९ गते १९ हजार ९२६ जनाको परीक्षण गरिएकोमा ७ हजार ९१४ जनमा संक्रमण पुष्टि भयो। अर्थात् ३९.७१ प्रतिशत मानिसमा संक्रमण देखियो।

त्यस्तै जेठ १० गते ३६.३० प्रतिशत मानिसमा संक्रमण देखिँदा हिजो शनिबारसम्म आइपुग्दा संक्रमण दर ३०.४१ प्रतिशतमा झरेको हो। जेठ ९ गतेअघि संक्रमण दर ४० प्रतिशतभन्दा बढी थियो।

विज्ञहरूले संक्रमण दर घटिरहेकाले लकडाउनलाई विस्तारै खुकुलो पार्दै लैजान सकिने सुझाएका छन्। भाइरोलोजिष्ट तथा इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. वासुदेव पाण्डे भन्छन्, ‘संक्रमण घट्दै गए पनि निषेधाज्ञालाई जेठभरि चाहिँ खोल्नु हुँदैन। असारदेखि भने बिस्तारै खुकुलो पार्दै लान सकिन्छ।’

उनले संक्रमण दर बिस्तारै घट्दै गएकाले अन्य आवश्यक कदम कार्यान्वयन गरी निषेधाज्ञालाई बिस्तारै खुकुलो पार्न सकिने बताए। भाइरोलोजिष्ट पाण्डेका अनुसार निषेधाज्ञाले संक्रमणको ‘चेन ब्रेक’ गराउन ठूलो मद्दत पुग्ने भए पनि त्यसका लागि अन्य विधि पनि रहेको जनाए।


प्रकाशित : २०७८ जेष्ठ १६, आईतवार ११:१९