
बुटवल, जेठ १६ ।
लुम्बिनी प्रदेशमा कोरोना भाइरस संक्रमणको चेन ब्रेकका लागि जिल्लाहरुमा जारी निषेधाज्ञालाई थप प्रभाविकारी बनाइने भएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको अध्यक्षतामा आइतवार बसेको लुम्बिनी प्रदेश कोरोना संकट व्यवस्थापन समितिले निषेधाज्ञालाई प्रभावकारी बनाउन अनुगमनलाई थप व्यवस्थित गर्ने निर्णय गरेको हो ।
अनुगमनको लागि प्रमुख जिल्ला अधिकारीले नेतृत्वदायी भूमिका खेल्नेछन् । परिस्थितिको आँकलन गरी निषेधाज्ञा हटाउनु पर्ने भएमा प्रदेश सरकारको समन्वयमा मात्र गर्ने समितिले निर्णय गरेको मुख्यमन्त्रीका प्रेश सल्लाहाकार शेरवहादुर केसीले जनाकारी दिनुभयो । पिसिआर ल्याव नभएका जिल्लाहरुमा एन्टिजेन किटको मात्रा बढाई परीक्षणमा समेत बृद्धि गरिने भएको छ । स्वाव संकलन गर्न चाहिने भिटिएम लगायतका सामग्री अभाव भएमा जिल्ला स्वास्थ्यकार्यालयले प्रदेश सरकार लगायतबाट प्राप्त बजेट श्रोतबाट खरिद गर्ने व्यवस्था मिलाउन सकिने निर्णय भएको छ । जिल्लाको अवस्था अनुसार अस्पतालहरुको क्षमता बृद्धिका लागि समेत समितिले स्वीकृति दिएको छ । श्रोत सुनिश्चतता प्राप्त भएका अस्पतालहरुले एचडीयू, आइसियू र भेन्टिलेटर विस्तारको लागि तत्काल खरिद प्रक्रिया अगाडि बढाउने गरी समितिले निर्णय गरेको छ । जिल्ला स्थित अस्पतालहरुमा अक्सिजन प्लान्ट स्थापना गर्ने कार्यमा प्राविधिक तथा खरिद प्रक्रियामा कुनै समस्या भएमा प्रदेश स्वास्थ्यतथा जनसंख्या मन्त्रालयले अनुगमन तथा सहजीकरण गर्नेछ । स्वास्थ्य सामग्रीको खरिदकालागि संघीय स्वास्थ्यतथा जनसंख्यामन्त्रालय र प्रदेश स्वास्थ्यतथा जनसंख्यामन्त्रालयसंग समन्वय गरी सम्बन्धित अस्पतालहरुले तत्कालखरिद प्रक्रिया अगाडि बढाउने समितिले निर्णय गरेको केसीले बताउनुभयो ।

