
जेष्ठ २४,
नवलपरासी बर्दघाट–सुस्तापूर्वमा यस वर्ष चैते धान उत्पादनमा वृद्धि हुने बताइएको छ । गत वर्षभन्दा २०० हेक्टर बढी क्षेत्रफलमा चैते धान खेती भएकाले यस वर्ष जिल्लामा उत्पादन बढ्ने कृषि ज्ञान केन्द्र नवलपरासी बर्दघाट–सुस्तापूर्व०ले जनाएको हो ।
जिल्लामा गत वर्षको भन्दा ८०० मेट्रिक टन बढी धान उत्पादन हुने ज्ञान केन्द्रका प्रमुख गोपाल लामिछानेले बताउनुभयो । यस वर्ष जिल्लामा एक हजार २०० हेक्टर क्षेत्रफलमा चैते धान लगाइएको लामिछानेको भनाइ छ । ज्ञान केन्द्रले जिल्लाको तीन स्थानमा धान ब्लक सञ्चालन गरेको, सिँचाइ सुविधा पु¥याएको लगायतका सुविधा प्रदान गरेपछि चैते धानप्रति कृषकहरुको आकर्षण बढेको लामिछानेले बताउनुभयो ।
वर्षे धानभन्दा चैते धानको उत्पादन राम्रो हुने गरेको छ”, लामिछानेले भन्नुभयो, “जिल्लामा वर्षे धान प्रतिहेक्टरमा चार मेट्रिक टनसम्म उत्पादन हुने गरेको छ ।” यस वर्ष जिल्लामा करिब पाँच हजार मेट्रिक टन चैते धान उत्पादन हुने भन्दै लामिछानेले उत्पादन भएको धानमध्ये २५ प्रतिशत कृषकले राखेर बाँकी बिक्री गर्ने बताउनुभयो । “यहाँ उत्पादन भएको चैते धानको बजार सुनिश्चित भएको छैन”, लामिछानेले भन्नुभयो, “यद्यपि हामीले ठूला धान मिलहरुसँग धान खरिद बिक्रीबारे कुरा गरिरहेका छौँ ।”
गैँडाकोट नगरपालिकामा उत्पादन भएको धान बिक्रीका लागि स्थानीय सरकारले पहल गरेकाले अन्य पालिकाले समेत त्यसैगरी सहजीकरण गरेमा कृषकहरुलाई सहज हुने उहाँले बताउनुभयो । “ठूला मिलहरुले भारतबाट सस्तोमा धान किनेर ल्याउने गरेका कारण स्थानीय उत्पादन खरिद गर्न उनीहरु तयार हुँदैनन्”, लामिछानेले भन्नुभयो, “स्थानीय उत्पादनलाई प्राथमिकता दिएर भारतबाट आउने धान प्रतिस्थापनका लागि सरकारले विशेष पहल गर्नुपर्छ ।” भारतबाट सस्तोमा धान आउने भएकाले यहाँका कृषकहरुले बाध्य भएर सस्तो मूल्यमा धान बेच्नुपर्ने अवस्था आउने गरेको लामिछानेको भनाइ छ ।
देशैभर चामलको आयात गर्नुपर्ने भए पनि नवलपुरबाट भने अन्य जिल्लामा पठाउने गरी उत्पादन हुने गरेको उहाँले बताउनुभयो ।

