
जेठ २५
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्ला केही दिनयता संक्रमणमा कमी आए पनि महामारीको जोखिम नटरेको भन्दै रित्ता अक्सिजन सिलिन्डर भर्न आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले सिलिन्डरहरु व्यक्तिका घर, टोल, आइसोलेसन सेन्टर र अस्पतालमा भएका रित्ता सिलिन्डर भरेर राख्न आग्रह गरेका हुन् । खाली सिलिन्डरहरु अहिले समयमै भर्नका लागि सम्बन्धित उद्योगहरुमा नपुग्दा अक्सिजनको समग्र आपूर्ति प्रणालीमा असर गर्ने र अस्पतालमा जटिल उपचारमा रहेका व्यक्तिलाई अप्ठ्यारो पर्ने भएकाले सिलिन्डर भर्न आग्रह गरिएको मन्त्रालयले जनाएको छ । ‘जुनसुकै व्यक्ति, संस्था, निकायले जुनसुकै बहानामा लैजानुभएको अक्सिजन सिलिन्डर यथाशक्य चाँडो जुन उद्योगको सिलिन्डर हो सोही उद्योगमा भर्नका लागि उपलब्ध गराइदिनुहुन अनुरोध छ’, विज्ञप्तिमा भनिएको छ । मन्त्रालयले अस्पतालहरुले अधिकतम मात्रामा अक्सिजन सिलिन्डर भरेर राख्न, अक्सिजन प्लान्ट वा ट्यांक मर्मत, जडान जतिसक्दो चाँडो गरी पूर्ण क्षमतामा सञ्चालन हुने व्यवस्था मिलाउन पनि भनेको छ ।

