
हरि शर्मा
३ असार ः
पूर्वी नवलपरासीको बौदिकाली गाउँपालिकामा रहेका २ वटा पक्की पुल बाढीले बगाउँदा स्थानीयहरुको बजारसम्मको सिंधा सम्पर्क टुटेको छ । तीन दिनदेखि परेको अबिरल वर्षापछि आएको बाढीले बौदीकाली गाउँपालिका– १ मा निर्माणाधिन पक्की पुल बगाएको छ । त्यसैगरी कालीगण्डकीमा रहेको अर्को पक्की पुल पनि बाढीले बगाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिपचन्द्र सुवेदीले जानकारी दिए ।
गण्डकी प्रदेश सरकारको ३ करोड ५० लाखको लागतमा वडा नं १ मा पुल निर्माण भइरहेको थियो । पुलको काम अन्तिम चरणमा थियो । ढलानको काम मात्र बाँकी रहेका बेला बाढीले पुल बगाएको प्रमुख सुवेदीले बताए । स्थानीयहरुलाई सहजरुपमा सदरमुकाम कावासोती पुग्नका लागि पुल निर्माण गरिएको थियो । पुल बगाएपछि स्थानीयको सदरमुकामसँगको सिंधा सम्पर्क टुटेको छ । अब स्थानीयहरु सदरमुकाम पुग्न४५ कि.मि.को पहाडी बाटो हुँदै जानुपर्ने बाध्यता छ । सदरमुकामसँगै राजमार्ग पुग्न १ दिन लाग्ने भएपछि सबैभन्दा बढी बिरामीहरुको उपचारमा समस्या आएको सुवेदीले बताए । त्यसैगरी गाउँपालिकाको वडा नं.२ स्थित कालीगण्डकीमा बनाइएको पुलसमेत बाढीले बगाएको छ । यो पुल हुँदै स्थानीयहरु भिमाद निस्केर पोखरा पुग्ने गरेका थिए । पुल बगाएपछि प्रदेश राजधानी पोखराको सिंधा सम्पर्क पनि टुटेको गाउँपालिकाले जनाएको छ । भिमाद पुग्न पनि स्थानीयले अब १ दिन पैदल लगाएर हिड्नु पर्ने बाध्यता छ ।