लुदस,कपिलवस्तु । निजामती सेवा दिवस एवं अन्तराष्ट्रिय शिक्षा तथा साक्षरता दिवसको अवसरमा आज बुद्धभुमि नगरपालिकामा आयोजित रक्तदान कार्यक्रममा ६० पोइन्ट रगत संकलन भएको छ ।
कर्मचारी मिलन केन्द्र बुद्धभूमि नगरपालिकाको आयोजना तथा रोट्रयाक्ट क्लब अफ बुद्धभूमिको सहकार्यमा कार्यक्रम संचालन भएको थियो । उक्त कार्यक्रममा ६० पोइण्ट रगत संकलन भएको बुद्धभुमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिल पौडेलले बताएका छन् ।

रक्तदान गर्नाले शरीरमा नयाँ रगत निर्माण हुने र शरीर स्वस्थ हुने गर्दछ । रक्तदान, जीवन दान भएकाले यो पुण्य कार्यबाट रगतको अभाव पूरा गर्नका लागी सबैले रक्तदान गर्नुपर्ने नगर प्रमुख केशव कुमार श्रेष्ठले बताए ।
कार्यक्रममा नगरपालिकामा कार्यरत कर्मचारी, जनप्रतिनिधि, शिक्षक, सुरक्षाकर्मी, बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरु तथा नगरवासीको सहभागीतामा रहेको थियो ।

कर्मचारी मिलन केन्द्रका संयोजक राम प्रसाद भट्टराईको अध्यक्षता, नगर प्रमुख केशव कुमार श्रेष्ठको प्रमुख आतिथ्यता, नगर उप प्रमुख मिरा थारु तथा प्रमुख प्रशासकीय अधिकृत अनिल पौडेलको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रमको संचालन कर्मचारी मिलन केन्द्रका सचिव विजय भुसालले गरेका थिए।




















