
लुदअ कात्तिक १८, काठमाण्डौ
भारतबाट धेरै परिमाणमा फूल आएपछि नेपाली व्यवसायीले आफूहरू मारमा परेको गुनासो गरेका छन् ।
काठमाण्डौको न्यु रोड क्षेत्रमा देखिएको फूलको व्यापारमा धेरैजसो भारतीय फूल देखिएको छ । भारतीय फूल प्रति माला दुई हजार रुपैयाँसम्म बिक्री हुँदा नेपाली फूलको माला प्रति माला पाँच सय रुपैयाँमा समेत बेच्न मुस्किल परेको किसानरव्यापारीले गुनासो गरेका छन् ।
काठमाण्डौमा लक्ष्मी पूजा र गोवर्द्धन पूजाको दिन सयपत्री, मखमली लगायतका फूलको बिक्री धेरै हुने गर्छ । कात्तिक पहिलो हप्ता देशभर परेको बेमौसमी वर्षाले मुख्य कृषि बालीसँगै फूल खेतीमा पनि क्षति गरेको थियो । वर्षाले देशभर लगाइएको र बिक्रीका लागि तयारी अवस्थामा रहेका फूलमा धेरै क्षति भयो । काठमाण्डौ उपत्यका वरिपरिका साथै तराईका विभिन्न क्षेत्रमा व्यावसायिक रूपमा फूलको खेती हुने गरेको छ ।
फूल बेच्नका लागि काठमाण्डौमा छिमेकी जिल्लाहरू– नुवाकोट, धादिङ, काभ्रेपलाञ्चोकबाट किसान तथा व्यापारी आउने गर्छन् । काठमाण्डौको न्यु रोडमा फूल बेच्ने र किन्नेहरूको अत्यधिक भिड देखिए पनि नेपाली किसानरव्यापारी भने निराश देखिएका छन् ।
बर्सेनि तिहारको समयमा काठमाण्डौमा आइ फूल बेच्दै आउनुभएका धादिङका अशोक अधिकारीले यस वर्ष भारतबाट फूल अत्यधिक आएका कारण नेपाली फूलले उचित मूल्य नै नपाएको गुनासो गर्नुभयो ।
यो वर्षको तिहारमा फूलमालाको माग बढ्ने र यसको प्रत्यक्ष लाभ नेपाली किसानले गर्ने अनुमान गरिएको थियो । तर बेमौसमी वर्षाका कारण नेपाली किसानले लगाएको फूल बारीमै नष्ट भएपछि भारतीय फूलले बजारमा कब्जा जमाएको छ । कोरोना सङ्क्रमणको जोखिम कम भएको र मानिसहरूले उल्लासमय तरिकाले तिहार मनाउने हुँदा फूलको माग बढ्ने अनुमान गरिएको थियो ।
गएको वर्षको तुलनामा पाँच लाख बढी मालाको माग बजारमा आउने अनुमान गरिएको छ । नेपालमा वार्षिक झन्डै तीन अर्ब रुपैयाँ बराबरको फूल कारोबार हुँदै आएको बताइन्छ ।