लैङ्गिक हिंसा न्युनिकरणका लागि सरोकारवालासंग अन्तरक्रिया

[sharethis-inline-buttons]

हरि आचार्य, कपिलवस्तु

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत लैङ्गितामा आधारित हिंसा न्युनिकरणका लागि सरोकारवालाको भुमिका बिषयक अन्तरक्रिया कार्यक्रम कपिलवस्तुमा सम्पन्न भएको छ । सिद्धार्थ सामाजिक विकास केन्द्र, सिद्धार्थ बचत तथा ऋण परिचालन सहकारी संस्था लि.को संयुक्त आयोजना, बाणगंगा नगरपालिकाको समन्वय तथा स्ट्रोमा फाउण्डेसन, युनिसेफ र रुपान्तरण परियोजनाको सहयोगमा सिद्धार्थ सामाजिकको सभाहलमा उक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो ।

घरैबाट शुरु गरौँ, महिला हिंसा अन्त्य गरौँ भन्ने मुल नाराका साथ आयोजित कार्यक्रममा लैङ्गिकतामा आधारित हिंसाका प्रकार, जिल्लामा हिंसाका संख्या, यसका कारणहरु तथा न्युनिकरणका उपायहरुको बारेमा सरोकारवालाहरुसंग अन्तरक्रिया गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि बाणगंगा नगरपालिका महिला तथा बालवालिका शाखा प्रमुख सुशिला पन्तले नगरपालिकाले लैङ्गिक हिंसा विरुद्धका कार्यक्रम विभिन्न वडामा सञ्चालन गरेको बताईन् । पन्तले महिला हिंसा भएकै कारण शारिरीक, मानसिक तथा विभिन्न हिंसा खेपिरहेको बताईन् । महिलाहरु आर्थिक, शैक्षिक रुपमा सवल बन्न आवश्यक रहेकोले यस तर्फ सबैले चासो दिन आह्वान गरिन् ।

पुरुषको अनुपतामा महिलाहरु लैङ्गिक हिंसाको चपेटामा परेको भन्दै यस तर्फ चासो राख्नुपर्नेमा जोड दिईएको थियो । कार्यक्रममा ईन्सेक प्रतिनिधि पार्वती आचार्यले लैङ्गिक हिसा सम्बन्धी कार्यपत्र प्रस्तुत गरेकी थिईन् । कार्यपत्रमा विभिन्न सरकारी तथा गैरसरकारी निकायको सहयोगमा विभिन्न तथ्यांकहरु समावेश गरिएको थियो ।

कार्यक्रमका अध्यक्ष सिद्धार्थ सामाजिक विकास केन्द्रका अध्यक्ष सुर्य कुमारी शाहले महिलाहरु सशक्त बन्न आवश्यक रहेको बताईन् । उनले नेतृत्वमा पुग्ने महिलाहरुको संख्या मात्र धेरै भएको भन्दै गुणात्मक काम गर्न आवश्यक रहेको बताईन् ।

कार्यक्रममा महिला बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष नुमी शर्मा, निगरानी समुहका सदस्य कृष्ण प्रसाद ज्ञवाली, मानव अधिकारका लागि एकल महिलाका जिल्ला अध्यक्ष रुपा देवी राई गुरुङ् लगायतले धारणा राख्दै लैङ्गिक हिंसा न्युनिकरणका लागि आफुबाटै परिवर्तन गर्न आवश्यक रहेको बताए ।

कार्यक्रम मार्फत उद्यमी महिलाको रुपमा बाणगंगा ४ झुंगा निवासी बिना बन्जाडेलाई नगद सहित सम्मान गरिएको छ । विशेष गरि चालकको संख्यामा महिलाको कमी भएकोले अटो चालक व्यवसाय गर्दै आएकी बन्जाडेलाई हौसला स्वरुप सम्मान गरिएको हो ।

सिद्धार्थ सामाजिक विकास संस्थाका अध्यक्ष सुर्य कुमारी शाहीको अध्यक्षता, बाणगंगा नगरपालिका महिला तथा बालवालिका शाखा प्रमुख सुशिला पन्तको प्रमुख आतिथ्यता, सिद्धार्थ सामाजिक विकास केन्द्रका कार्य समिति सदस्य चेतना अधिकारीको स्वागत तथा कोषाध्यक्ष शोभा आचार्यको सहजिकरण रहेको कार्यक्रममा अपांग उत्थान समाज कपिलवस्तुका प्रतिनिधि सुनिल विक, विभिन्न सहकारी, एकल महिला आमा समुहका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

 


प्रकाशित : २०७८ मंसिर १७, शुक्रबार १९:१२