
हरि आचार्य कपिलवस्तु, फागुन ७
कपिलवस्तुमा कुष्ठ प्रभावित तथा अपांगता भएका व्यक्तिहरुका लागि उद्यमशिलता तथा रोजगारी सम्बन्धी सरोकारवालाहरुसंग अन्तरक्रिया तथा विउ पुँजी वितरण कार्यक्रम सम्पन्न गरिएको छ । अपांग उत्थान समाज कपिलवस्तुको आयोजना, बाणगंगा नगरपालिकाको समन्वय तथा द लेप्रोसी मिसन नेपालको सहयोगमा सो कार्यक्रम गरिएको हो ।
पिस हिमालय रिसोर्टमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका सरोकारवालाहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा कुष्ठ प्रभावित तथा अपांगता भएका व्यक्तिहरुको जिविको पार्जन, उनीहरुको आर्थिक स्तर कसरी उकास्न सकिन्छ, उनीहरुलाई स्वरोजगार तथा रोजगार कसरी सकिन्छ भन्ने बिषयमा सरोकारवालाहरु बिच छलफल र अन्तरक्रिया गरिएको थियो ।
कार्यक्रमको बारेमा द लेप्रोसी नेपाल अन्तर्गत ईम्पयाक्ट प्रोजेक्टका कार्यक्रम प्रमुख विष्णु प्रसाद ढुंगानाले विस्तृत जानकारी गराएका थिए भने प्रोजेक्टका जिविकोपार्जन अधिकृत सन्तोष सुनारले सी.एस.आर.को बारेमा स्पष्ट पारेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि बाणगंगा नगरपालिकाका मेयर मंगल प्रसाद थारुले अपांग पनि साङ्ग व्यक्ति सरह हुनुपर्ने बताए । उनले नगरपालिकाले अपांगता भएका व्यक्तिहरुका लागि आवश्यक कार्यविधि पारित भईनसकेको भन्दै नगरपालिकाले आवश्यक काम भने गरिरहेको बताए ।
कार्यक्रम मार्फत अपांगता भएका व्यक्तिहरुलाई अनुदान वापतको रकम समेत वितरण गरिएको छ । अपांगतको प्रकृति हेरी उनीहरुले सञ्चालन गर्दै आएको व्यवसायलाई अझ व्यबस्थित बनाई कम्तिमा परिवार पाल्न सक्ने उद्देश्यले उक्त अनुदान हस्तान्तरण गरिएको बताइएको छ ।
अनुदान प्राप्त गर्दै अपांगता भएका व्यक्तिहरुले यो अनुदानलाई सदुपयोग गरि अगाडि बढ्ने भन्दै धन्यवाद व्यक्त गरेका थिए ।
अपांग उत्थान समाज कपिलवस्तुका अध्यक्ष कमल प्रसाद ढुंगानाले अपांगता भएका व्यक्तिहरुलाई यसरी सहयोग गर्न पाउँदा गर्वको महशुस भएको भन्दै सधै अपांगता भएका व्यक्तिको पक्षमा रहेको बताए । कार्यक्रमका अध्यक्ष समेत रहेका ढुंगानाले कपिलवस्तुमा अपांगा भएका व्यक्तिको जिवन स्तरमा अहिले केहि सकारात्मक फरक आएको भन्दै खुसी व्यक्त गरे ।
द लेप्रोसी मिसन नेपाल अन्तर्गत फाउण्ड परियोजनका व्यवसाय विकास अधिकृत ढाकाराम अधिकारीको स्वागत तथा परयोजनका रोजगार परामर्शदाता गीता अर्यालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।