
फाल्गुन १८,
बुटवल ।
सामुदायिक माविहरुको कार्यसम्पादनमा बुटवल उपमहानगरपालिका मुलुकमै उत्कृष्ट भएको छ ।
शैक्षिक गुणस्तर परीक्षण केन्द्रले देशभरिबाट नमुना विद्यालयका रुपमा छनौट गरेका सामुदायिक विद्यालयको कार्यसम्पादनको परीक्षण गरेको थियो । मुलुकभरका सबै पालिकाहरुबाट नमुना विद्यालयका रुपमा छनौट गरिएका करिब एक हजार सामुदायिक माध्यमिक विद्यालयको कार्यसम्पादन मूल्यांकनका आधारमा बुटवल देशभरकै पालिकाहरुमा प्रथम भएको हो । शैक्षिक गुणस्तर परीक्षण केन्द्रले हालै प्रकासित गरेको परीक्षणको समष्टिगत प्रतिवेदनमा बुटवल उपमहानगरपालिका सामुदायिक माविको कार्यसम्पादन उत्कृष्ट पाइएको हो ।
विद्यालयको भौतिक संरचना, शिक्षकको योग्यता तथा उपलब्धता र समुदायबाट विद्यालयलाई प्राप्त भौतिक सहयोगलाई लगानी मानेर मूल्यांकन गरिएको थियो । परीक्षणका लागि रुपन्देहीका सबै १६ वटै पालिका परेका थिए । बुटवलका २० वटा सामुदायिक विद्यालयको मूल्यांकन गरिएको थियो । रुपन्देहीसहित देशैभरका पालिकाहरुबाट बुटवल उत्कृष्ट भएको शैक्षिक गुणस्तर परीक्षण केन्द्रको प्रतिवेदनमा उल्लेख छ ।
शिक्षाको विकासका लागि बुटवलमा भएको योजनाबद्ध तथा दिगो विकास लक्ष्य अनुरुपका कामको नतिजा मानिएको र आगामी वर्षमा अझ सुधारका लागि हौसला बढाएको उपमहानगरका प्रमुख शिवराज सुवेदीले बताए ।