
लुदअ कपिलवस्तु, चैत २
दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोाजनामा सहकारी उत्प्रेरणा तथा अभिमुखिकरण तालिम सुरु गरिएको छ । श्रीपेच होटलको सभाहलमा आयोजित ३ दिने तालिममा सहकारीका कार्य समितिका पदाधिकारी, शेयर सदस्य, कर्मचारीहरुको उपस्थिती रहेको छ । तालिममा सहकारी ब्यबस्थापन, जिम्मेवारी तथा कामकर्तब्यको बारेमा तालिम दिईने सहकारीले जनाएको छ ।
तालिममा मुख्य प्रशिक्षकको रुपमा केन्द्रिय सहकारी संघका महा सचिव दामोदर अधिकारी रहेका छन् ।
लुम्बिनी प्रदेशका सांसद बिष्णु पन्थीले तालिमको उद्घाटन गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सांसद पन्थीले दुई दशक अगाडि वित्तिय संस्था नभएको यस बाणगंगामा अहिले धेरै वित्तिय संस्था सञ्चालनमा आएको बताए । उनले यस क्षेत्रका सर्वसाधारणहरुको आर्थिक स्तर उकास्ने कार्यमा सहकारीको अहम भुमिका रहेको बताए । उनले अब सहकारीलाई उत्पादनमुखी कार्यमा जोड्न आवश्यक रहेको बताउदै सहकारी व्यबस्थापकले यस तर्फ ध्यान दिन आवश्यक रहेको बताए ।
कार्यक्रमका विशिष्ट अतिथि कपिलवस्तु बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गुणानिधि भुसालले बाणगंगाका सहकारीमा करिव ४ अर्व रकम परिचालित रहेको बताए । वडा नं. ८ का वडाध्यक्ष समेत रहेका भुसालले यो रकमलाई अब उत्पादन र प्रविधिसंग जोडि आर्थिक रुपमा सक्षम बाणगंगा निर्माण आवश्यक रहेको बताए ।
कार्यक्रममा सहकारीका अध्यक्ष बिदुर मल्लको अध्यक्षता तथा सहकारीका सचिव विजय शाहीको सञ्चालन रहेको थियो ।