बुटवलमा ‘जितगढी संग्रहालय’ बन्ने

रुपन्देही,२०७७ चैत ४
तत्कालिन समयमा अंग्रेज फौजलाई नेपाली सेनाले परास्त गरेको बुटवल उपमहानगरपालिका वडा नम्बर १ को ऐतिहासिक सम्पदास्थल जितगढी किल्लामा ‘जितगढी संग्रहालय’ बन्ने भएको छ। यो ऐतिहासिक जितगढी किल्लामा भएको तत्कालीन नेपाल९अंग्रेज युद्ध ताकाको झल्को दिनेगरी संग्रहालय बन्न लागेको हो । उक्त संग्रहालयको बुधबार उपमहानगरपालिकाका नगर प्रमुख शिवराज सुवेदीले शिलान्यास गर्नुभएको छ। पहिलो, दोस्रो, तेस्रो तलामा संग्रहालय र चौथो तलामा परम्परागत खानाको परिकारसमेत पाइने गरी क्याफे रहने गरी संग्रहालय भवन चार तलाको हुने छ । यस्तै तल्लो तलामै बुटवललाई चिनाउने विभिन्न किसिमका सामाग्री र मायाको चिनो राखिएको शोभिनियर सप रहनेछ । सम्झौता अनुसार २०७९ साल माघ २५ गते संग्रहालय निर्माण पूरा गर्नुपर्ने भएपनि सो अगावै काम सक्ने निर्माण कम्पनी शिवशक्ति कन्स्ट्रक्सन प्रालिका प्रतिनिधि प्रभाकर लामिछानेले बताउनुभयो ।
२०४ वर्षअघि १८७२ साल वैशाख ७ गते नेपाल–अंग्रेज युद्धमा कर्णेल उजिरसिंह थापा नेतृत्वको नेपाली फौजले अंग्रेज फौजलाई हराउँदै युद्ध जितेको थियो । सोही ऐतिहासिक युद्धका बेला प्रयोग भएका हतियार, युद्ध कला, पहिरन, रेशम मार्गको बटौली, नून र घिउको कारोबार हुने बटौली तथा सांस्कृतिक शहर बटौलीको झल्को दिने गरी संग्रहालय बनाउन लागिएको नगर प्रमुख सुवेदीले बताउनुभयो । उहाँका अनुसार करिब ६ करोड ८२ लाख ५० हजार दुई सय ५६ रुपैयाँ बराबरको लागतमा तीन कट्ठा जग्गामा संग्रहालय बन्ने छ ।

Recommended For You

About the Author: Lumbini Darpan Online

Leave a Reply

Your email address will not be published. Required fields are marked *