
भैरहवा २०७७ चैत्र ६
लुम्बिनी प्रदेश अन्तर्गत रुपन्देहीको तिलोत्तमा नगरपालिकामा पनि ब्यूआर कोर्ड लागु हुने भएको छ । लुम्बिनी प्रदेशमा डिजिटल बैंकिंङ्ग सर्वसाधारणको पहुँचसम्म पुर्याउन क्युआर कोडको माध्यमबाट भुक्तानी प्रणालीलाई प्रबद्धन गर्ने उद्देश्यले शुरु गरिएको अभियानमा तिलोत्तमा नगरपालिकाको योगीकुटीमा रहेको साप्ताहिक रुपमा लाग्ने हाटबजार पनि थपिएको छ । प्रत्येक सोमबार र बिहीबार लाग्ने उक्त हाटबजारमा तरकारी तथा फलफुलका साथै अन्य पसलमा खरिद गर्दा पनि नगद रहित कोबार गर्न सकिने भएको छ ।
यस्ता भुक्तानीमा क्युआर कोड प्रयोग गरि उपभोक्ताले आफ्नो खाताबाट कुनै अतिरिक्त शुल्क नतिरी सेवा प्रदायकको खातामा रकम भुक्तानी गर्न सक्ने प्रणालीको यो बजार क्षेत्र पनि समाबेश गरिएको छ । चैत्र ५ गते देखी सुरु भएको उक्त प्रणालीको नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयका निर्देशक सुदिप फुयालले उदघाटन गरेका छन् । माछापुच्छ्रे बैंकले प्रदान गरेको क्युआर कोड प्रणालीलाई शुभारम्भ गर्दै निर्देशक फुयालले यस प्रणालीबाट कारोबार गर्दा सुरक्षित, कम खर्चिलो र विश्वासनिय भएकोले यसमा सहभागिताको लागि सबैलाई आव्हान गरे ।
माछापुच्छ्रे बैंक प्रबन्धक उज्जवल पाण्डे, शाखा प्रबन्धकहरु विकास भट्टराई र कृष्ण पाण्डे, नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयका सहायक निर्देशक रमेशकुमार न्यौपाने, बजार समितिका अध्यक्ष स्थानीय ब्यापारी लगायतको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको थियो ।