
हरि आचार्य कपिलवस्तु, चैत १०
कपिलवस्तुमा यहि चैत २० गतेदेखि राष्ट्रिय हात्तिपाईले (फाईलेरिया) रोग निवारण कार्यक्रम २०७७ सुरु हुने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले पत्रकार अन्तरक्रिया गरी अभियान बारे जानकारी गराएको हो ।
जिल्लामा रोगको संक्रमण पाईए पछि १३ औँ पटक यो अभियान सुरु गर्न लागिएको हो । जिल्लामा कुल जनसंख्याको १२.५ प्रतिशत मानिसमा यसको सक्रमण रहेको तथ्यांकमा उल्लेख छ । सबैले औषधी सेवन नगरेका कारण अन्य जिल्लाको तुलनामा कपिलवस्तु पछाडी परेका हो । त्यसैले यस पटक औषधी सेवनबाट कोही नछुटुन भन्ने उद्देश्य छ । यस क्रममा चैत २० गते देखी औषधी वितरण गरी प्रत्यक्ष निगरानीमा सबै मानिसलाई हात्तिपाईले रोगको औषधी खुवाउने कार्यक्रम रहेको जिल्ला स्वास्थ्य प्रमुख हेमराज पाण्डेले बताए । जिल्लामा जिल्ला, पालिका स्तर हुँदै प्रत्येक वडामा वडा स्तरमा भेला गोष्ठिको आयोजना गरी अभियानलाई प्रभावकारी बनाउँने तयारी भैरहेका छन् ।
अन्तरक्रिया कार्यक्रममा पत्रकारका जिज्ञासाको जवाफ दिंदै मेडिकल अधिकृत डाक्टर गंगारम यादवले सहजिकरण गरेका थिए । यादवले हात्तिपाईले रोग लाग्नुको कारण, यसको फैलने तरिका, यस रोगबाट बच्ने उपायको बारेमा स्पष्ट पारेका थिए । उनले यस पटक जिल्लामा यो अभियानलाई प्रभावकारी रुपमा संचालन गरि संक्रमणको अवस्था १ प्रतिशत भन्दा तल झार्ने उद्देश्य रहेको बताउँदै औषधि सेवन गर्न सबैलाई आग्रह गरे ।
दुई वर्ष मुनिका बालबालिका बाहेक सिकिस्त बिरामी, गर्भवती महिला र छारे रोगीहरुले औषधी खानु हुँदैन । त्यस्तै क्यान्सर, मुटु, मृगौला, कलेजो, फोक्सोका दिर्घ रोगीहरु र ज्वरो आएको २४ घण्टा भित्रका विरामीले पनि औषधी खानु हुँदैन । त्यस बाहेक सबैले निस्फिक्री रुपमा औधषी खाएर जिल्लाबाट हात्तिपाईले रोग निर्मुल पार्न सहयोग गर्नु पर्ने प्रमुख पाण्डेले बताए ।
पत्रकार महासंघ कपिलवस्तुका सह सचिव मोहन बेल्बासेले जिल्लामा १२ औँ पटक सम्म अभियान सञ्चालन गर्दा पनि अझै यसलाई निर्मुल पार्न नसक्नु बिडम्बना रहेको भन्दै यस पटक सबै मिलेर यसलाई सफल बनाउन आवश्यक रहेको बताए । उनले जति सक्दो धेरै नागरिकलाई औषधी सेवन गर्नका निम्ति सञ्चारकर्मीको भूमिका भुमिका अहम रहने हुंदा अभियानलाई सफल पार्न सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका थिए ।
पछिल्लो तथ्यांक अनुसार जिल्लाको महाराजगंज नगरपालिकामा हात्तिपाईलेको संक्रमण बढि रहेको पाईएको छ । जिल्ला स्वास्थ्य प्रमुख पाण्डेको अध्यक्षता, कुष्ठ रोग अधिकृत डम्बर कुंवरको स्वागत मन्तब्य तथा मलेरिया निरिक्षक मोहन कुमार शर्माको सञ्चालन रहेको पत्रकार अन्तरकृया कार्यक्रममा जिल्लाका सक्रिय पत्रकारहरुको उपस्थिती रहेको थियो ।
सामन्यतया मानिसमा यो रोगको परजिवी भएकामा मानिस बाहिरी रुपमा स्वस्थ देखिए पनी भित्री अंङ्गमा परजिविले क्षेती पु¥याई हरेको हुँन्छ । परजीविका कारण मृगौला खराब भएर पिसाव सम्बन्धी रोग लाग्न सक्छ ।
त्यस्तै कम ज्वरो आउँनु, हातगोडामा निलडाम देखिनु, पुरुषको अण्डकोष वरपर नसाहरु फुल्नु, महिलामा स्तन वा यौनाङ्ग सुनिनु, दुख्नु आदी लक्षण देखा पर्ने चिकित्सकहरुले बताएका छन् । चिकित्सकहरुले हात्तिपाईलेको औधषी सेवन पछि शरिरमा समान्य असर देखिनु सकारात्मक लक्षण भएको जानकारी दिएका छन् ।
त्यसैले रोग बिरुद्ध आम नेपालीले काँधमा काँध मिलाएर आत्मसात गर्दै पर्खाल बन्न आवश्यक देखिन्छ ।