
तिलोत्तमा , ४ बैशाख ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ६ पश्चिम पहुनीमा रहेको मोक्षधाममा चार धामका कलात्मक नमुना मन्दिर निर्माण गरिँदैछ । पुराणमा उल्लेख भए अनुसार भारतका बद्रिनाथ, जगन्नाथ, रामेश्वरम र द्वारिका गरि चार धाम र नेपालका रामजानकी मन्दिर र लुम्बिनी बौद्ध स्तुपा निर्माण गर्न लागिएको हो । पृथ्वीमा स्वर्गको आभाष हुने परिकल्पना गरिएको मोक्षधाममा ती धाम सहित विभिन्न देवी देवताका विग्रहरु स्थापित गरिने मोक्षधाम सेवा आश्रमका अध्यक्ष रोमणीप्रसाद पाठकले जानकारी दिनुभयो । उहाँका अनुनसार रुपन्देही जिल्लाको धार्मिक पर्यटनलाई केन्द्रमा राखेर मोक्षधामको परिकल्पना गरिएको हो ।
ती ६ वटा धाम निर्माणको लागि करिव १ अर्ब भन्दा बढी लागत लाग्ने अनुमान गरिएको छ । त्यसरी निर्माण गर्न लागिएको धामहरुको यहि बैशाख ११ गते शिलान्यास गर्ने कार्यक्रम तय गरिएको छ । आयोजनाको सन्त महन्त, जनप्रतिनीधि, राजनीतिज्ञ, समाजसेवी, प्रतिष्ठित व्यक्ति, व्यापारी, उद्योगी तथा भक्तजनहरुबाट सामुहिक रुपमा शिलान्यास गर्ने कार्यक्रम तय गरिएको धामका कोषाध्यक्ष नारायण बञ्जाडेले जानकारी गराउनु भयो । त्यस्तैगरी निर्माण सपन्न मुक्तिनाथ मन्दिर, विश्वनाथ पशुपतिनाथ मन्दिर, सन्त निवास (सत्संग कक्ष) भवन, बृद्धा तथा बाल आश्रम, सभा हलको उद्घाटन गर्ने कार्यक्रम समेत तय गरिएको छ ।