बुटवल वैशाख १२
तिलोत्तमा नगरपालिकाले आफ्नै सक्रियतामा निर्माण गरेको आइसोलेशन सेन्टरलाई तयारी अवस्थामा राखेको छ ।गत वर्षको कोरोना महामारीको समयमा निर्माण गरिएको आइसोलेशन सेन्टरमा आवश्यक उपकरणहरु व्यवस्थापन गरेर तयारी अवस्थामा राखिएको नगरपालिकाका कोरोना फोकल पर्सन तथा जनस्वास्थ्य निरीक्षक केशव भट्टराईले बताए।
कोरोना संक्रमणको पूर्वतयारी गर्दे तिलोत्तमा नगरपालिकाले शंकरनगर स्वास्थ्यचौकीमा आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको हो । बिरामीको २४ सै घण्टा सेवा दिने गरी केन्द्रमा स्वास्थ्यकर्मीको व्यवस्था गरिएको छ । कोरोना कोहोरानाको महामारीबाट नगरबासीलाई बचाउन नगरपालिकाले गत वर्षदेखि नैं आफ्नै स्रोतमा चिकित्सक तथा स्टाफ नर्स नियुक्त गरेको थियो ।
नियमित प्रवाह हुँदै आएको सेवालाई वडा नं २ को कार्यालयमा स्थानान्तरण गरी स्वास्थ्यचौकीलाई आइसोलेशन सेन्टरको रुपमा तयार गरिएको जानकारी उनले दिए । बुटवल कोरोना अस्पतालका चिकित्सक तथा प्राविधिकको निगरानी र परामर्शका आधारमा तिलोत्तमा नगरपालिकाले गत वर्ष आइसोलेशन सेन्टर निर्माण गरेको थियो ।
कोरोना महामारीको पहिलो लहरमा यहाँ बुटवलको धागो कारखाना स्थित कोरोना अस्पतालले पठाएका बिरामीलाई समेत राखिएको थियो ।बीस शैंयाको सेन्टरमा एक तहको कोरोना अस्पतालको सम्पूर्ण सुविधा रहेको जनस्वास्थ्य निरीक्षक भट्टराईले बताए । सेन्टरमा आइसियु र भेन्टिलेटरको सुविधा नचाहिने कोरोनाका बिरामी तथा कोरोना सम्भावित सबै प्रकारका बिरामीको उपचार गर्न सकिने छ ।बुटवल कोरोना अस्पतालले पठाएका जुन कुनै पनि ठाउँका बिरामीलाई समेत सेन्टरमा राखेर उपचार गर्न सकिने गरेर व्यवस्थापन गरीएको छ ।




















