
बुटवल ,बैशाख १३
कोरोना भाइरस संक्रमण दिनदिनै तीव्र गतिमा फैलिरहेको छ। देशभर सक्रिय संक्रमितको संख्या दैनिक हजारौंका दरले बढ्ने गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। तर, कोरोनाको दोस्रो लहरको सुरुमै संक्रमितको उपचारमा समस्या देखिन थालेको छ। कोरोना विशेष अस्पतालमा बेड अभाव हुन थालेको छ। दाङको बेलझुन्डीस्थित लुम्बिनी प्रदेशस्तरीय कोरोना विशेष अस्पतालमा बेड अभाव हुँदा कतिपय बिरामी भुइँमा बसेर उपचाररत छन्। अस्पतालमा भएका बेड संक्रमितले भरिभराउ भए पनि उपचारको अर्को व्यवस्था हुन सकेको छैन। व्यवस्थापक द्रोणबहादुर ओलीले २५ बेड क्षमताको अस्पतालमा आन्तरिक व्यवस्थापनबाट ३८ बेड पुर्याएर बिरामीको उपचार गरिरहेको जानकारी दिए । तर बिरामीको संख्या दिन–प्रतिदिन बढ्दै गएपछि भुइँमा राखेर उपचार गर्नुपर्ने बाध्यता आइपरेको व्यवस्थापक ओलीको भनाइ छ। अस्पतालको ढोकामा आएर बिरामी बसेपछि हामीले बेड छैन भनेर कसरी फर्काउनु ओलीले भने, प्रदेशस्तरीय अस्पताल भनेपछि अन्य जिल्लाबाट पनि बिरामी आएका छन्। हामीले कसरी मिलाएर उपचार गराउने हो समस्या भएको छ। अक्सिजन बिना उपचार सम्भव छैन। भुइँमा राखेर उपचार गर्न पनि गाह्रो भयो, सरकारले यसमा चासो दिनुपर्यो उनले भने । कोरोनाको दोस्रो लहर नेपालमा बढेसँगै लुम्बिनी प्रदेशका कोरोना विशेष अस्पतालमा अक्सिजन ,बेडको अभावमा उपचारमा समस्या देखिएपछि सोमबार बसेको लुम्बिनी प्रदेश सरकारको बैठकले कोरोनाको उपचारलाई थप प्रभावकारी बनाउन बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पताल, दाङ बेलझण्डीस्थित कोरोना अस्पताल र बाँकेस्थित भेरी अस्पताललाई ५० लाखका दरले डेढ करोड रुपैयाँ दिने निर्णय गरेको छ ।
त्यसैगरी भीम अस्पताललाई २५ लाख गरी कुल १ करोड ७५ लाख रुपैयाँ रकमान्तर गरी तत्काल उपलब्ध गराउने निर्णय भएको मुख्यमन्त्री शंकर पोखरेलका प्रेस सल्लाहकार शेरबहादुर केसीले बता)ए ।
त्यसैगरी कोरोना रोकथाम तथा उपचार कोषमा १० करोड रुपैयाँ थप गर्ने निर्णय समेत भएको मुख्य मन्त्रीका प्रेस सल्लाकार केसीले बताए । अहिले पनि लुम्बिनी प्रदेशका चारवटै कोभिड अस्पतालमा आईसीयू बेड संक्रमितले भरिएका छन् भने भेरी अस्पतालमा संक्रमितलाई भुइँमै राखेर उपचार गर्नुपर्ने बाध्यता आएको छ।