हरि आचार्य, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा नगरपालिका जिल्लाकै पहिलो वालश्रम मुक्त नगर घोषणा भएको छ । जिल्लाका १० स्थानीय तहमध्ये बाणगंगा बाल श्रम मुक्त नगर घोषणा हुनेमा पहिलो भएको छ । नगरपालिकाको ११ औँ नगर सभा मार्फत नगरपालिकालाई सम्पुर्ण सुचकहरु पुरा गरि वालश्रम मुक्त नगर घोषणा गरिएको हो ।
महिला, वालवालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख सुशिला पन्थले ७ वटा सुचकहरु पुरा गरेको जानकारी गराउदै नगरपालिकामा बाल श्रमको तथ्यांक तथा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । शाखा प्रमुख पन्थले नगरपालिकामा अनुगमनको क्रममा भेटिएका वालवालिकाहरुलाई वाल श्रम मुक्त गराउनुका साथै गरिएका उपलब्धीहरुको बारेमा स्पष्ट पार्नुभएको थियो । उहाँले घोषणा मात्र ठुलो उपलब्धी नभई यसलाई निरन्तरता दिनका लागि आगामि दिनमा सहयोग र साथको अपेक्षा गर्दै नगर भित्र वाल श्रम भएको जानकारी पाएमा तुरुन्त खबर गर्न आग्रह गर्नुभयो ।
प्रतिवद्धता वाचन गरि हस्ताक्षर सहित नगर प्रमुख चक्रपाणि अर्यालले वाल श्रम मुक्त नगर घोषणा गर्नुभएको हो । साथै राष्ट्रिय सभा सांसद बिमला घिमिरे, प्रदेश सांसद विष्णु पन्थी, जनप्रतिनिधि, विभिन्न राजनीतिक दल, सामाजिक संघ सस्था तथा विद्यालयका प्रमुख तथा प्रतिनिधिहरुले प्रतिवद्धता पत्रमा हस्ताक्षर गर्नुभएको थियो ।
कार्यक्रममा बोल्ने वक्ताहरुले बाल श्रम मुक्त नगर घोषणा भएर मात्र नहुने भन्दै यसलाई निरन्तरता दिन आवश्यक रहेको बताएका थिए ।




















