कहिले बन्ला लुम्बिनी प्रदेशसभाको भवन ?लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङमा निर्माणाधिन प्रदेश सभा भवनले हालसम्म पनि पूर्णता पाउन सकेको छैन ।
लुम्बिनी प्रदेशको बर्खे अधिवेसनपछि हिउँदे अधिवेसन दाङको भालुबाङस्थित नयाँ भवनमा बस्ने प्रदेश सरकारको तयारी छ । तर प्रदेश सभाको आउने अधिवेसनका लागि स्थायी राजधानी दाङमा आवश्यक पूर्वाधारहरु तयार भएका छैनन् । प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सभाको भवन छिटो निर्माण सम्पन्न गर्न पटक–पटक निर्देशन दिंदै आए पनि काम पूरा हुन सकेको छैन ।
दाङको भालुबाङमा प्रदेश सभा भवन निर्माणका लागि ०७८ साल वैशाख २४ गते ५ करोड २१ लाखमा ठेक्का सम्झौता भएर काम सुरु भएको थियो । पहिलो सम्झौता अनुसार ४ महिना ९२०७८ साउन भित्र० भवन बनाइसक्नुपर्ने थियो । तर काममा ढिलाइ हुँदा प्रदेश सरकारले निर्माण व्यवसायी नै परिवर्तन गरेर भवन निर्माणको कामलाई अघि बढाइयो ।
भवन छिटो निर्माण गर्ने भन्दै दिन–रात गरी दुई सिफ्टमा समेत काम निर्माण सुरु गरिएको थियो । बीचमा प्रदेश सभा भवनको मौलिकता झल्कने गरी डिजाइन फेरेर भवन बनाउन थालिएपछि अर्थ मन्त्रालयले बजेट रोकेको थियो । पछि पुरानै डिजाइन अनुसार नै काम अघि बढ्यो ।
अहिले निर्माणाधीन अवस्थामा रहेको लुम्बिनी प्रदेश सभाको भवन अन्तिम चरणमा रहेको प्रदेश पूर्वाधार विकास प्राधिकरण बताउँछ । प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत छवीराज पोखरेलले प्रदेश सभा भवन निर्माणको काम ९० प्रतिशत सम्पन्न भइसकेको बताए ।




















