हरि आचार्य, कपिलवस्तु
पछिल्लो समय जन्म दिनको अवसरमा विभिन्न होटल तथा रेष्टुरेण्टहरुमा फजुल खर्च गर्ने प्रवृति बढिरहेको पाईन्छ । पश्चिमेली संस्कृति अनुसरण गरि जन्म दिनमा केक काट्ने साथीभाईहरुलाई डाक्ने अनि नाँचगान गरी रमाईलो गर्ने प्रचलन पनि नभएको होईन । सोहि क्रममा जन्म दिनमा केक काट्ने, रमाईलो गर्ने जस्ता प्रवृत्तिलाई अन्त्य गर्नका लागि एक विद्यार्थी नेताले आफ्नो २३ औँ जन्मोत्सवको अवसरमा कपिलवस्तुकै ठुलो राष्ट्रिय झण्डा फहराई उदाहरणिय कार्य गर्नुभएको छ ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ८ कपिलवस्तु निवासी नेविसंघ सिटिईभिटि लुम्बिनी प्रदेश सदस्य बिशाल अधिकारीले जन्मोत्सवको अवसरमा लौगाईको पोखरीमा जिल्लामै ठुलो राष्ट्रिय झण्डा राख्नुभएको हो । वि.स. २०५६ साउन २ गतेका दिन जन्मिनुभएका विद्यार्थी नेता अधिकारीले जन्मोत्सवको अवसरमा सामाजिक रुपान्तरणको काम गर्नका लागि प्रेरणा प्रदान गर्ने उद्देश्यका साथ यो कार्य गरिएको बताउनुभयो । जन्मोत्सवमा फजुल खर्च गरि अनेक तरिकाबाट खुसी बनाउने प्रचलन बढिरहेका बेला अधिकारीले गतिलो उदाहरण दिनुभएको छ ।

उहाँले विगतका बर्ष पनि जन्मोत्सवको अवसरमा अन्य मानवीय तथा सामाजिक कार्य गर्दै आउनुभएको छ । अधिकारीले फजुल खर्च गर्नुको साटो गरिव, विपन्न तथा अशक्तहरुलाई जन्मोत्सवको अवसरमा सक्दो सहयोग गर्न सम्पुर्णलाई आग्रह गर्नुभयो ।
जन्मोत्सवको अवसरमा अधिकारीले गणेश मन्दिर ब्यस्थापन समितिका अध्यक्ष बिष्णु भट्राईलाई झण्डा हस्तान्त्रण गर्नुभएको हो । राष्ट्रिय झण्डा ग्रहण गर्दै अध्यक्ष भट्राईले जन्मोत्सवमा अधिकारीले राष्ट्र प्रति उदाहरणिय कार्य गरेकाले सबैले यस्तो काम गर्न आवश्यक रहेको बताउनुभयो ।




















