परराष्ट्रमन्त्री खड्का नेतृत्वको नेपाली टोली चीनमा, आज दुईपक्षीय छलफल हुने

[sharethis-inline-buttons]

लुदअ साउन २५, काठमाण्डौ
चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री नारायण खड्काको नेपाली टोली र चिनियाँ प्रतिनिधिबीच आज छलफल हुने भएको छ । यसअघि सम्झौता भएका भौतिक परियोजनालाई अघि बढाउने विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

काठमाण्डौ चक्रपथको दोस्रो खण्ड विस्तार, टोखा–छहरे सुरुङमार्ग र काठमाण्डौ–केरुङ रेलमार्गको विषयमा चीनसँग छलफल गर्ने तयारी छ ।

यसअघि सहमति भएको सीमा व्यवस्थापन, आपसी कानुनी सहायता सन्धि, सगरमाथा संरक्षणसम्बन्धी सहकार्य, प्रकोप व्यवस्थापन र आपत्कालीन उद्धारमा सहकार्यलगायतका विषयमा पनि चीनसँग छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । यस्तै व्यापारसम्बन्धी संयुक्त कार्य समूह, सीमा सुरक्षामा उपकरणसम्बन्धी सहकार्यका विषयमा पनि छलफल हुनेछ ।

चिनियाँ स्टेट काउन्सिलर वाङ यीको निमन्त्रणामा परराष्ट्रमन्त्री खड्का ११ सदस्यीय नेपाली टोलीको नेतृत्व गर्दै हिजो चीनको साङदोङ प्रान्तको छङ्दाओ सहर जानुभएको हो ।

टोलीमा परराष्ट्रसचिव भरतराज पौड्यालसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव, गृह र अर्थ मन्त्रालयका सहसचिवलगायत सहभागी छन् ।


प्रकाशित : २०७९ श्रावण २५, बुधबार ०७:२१