पारिवारिक वातावरणले साहित्यिक पृष्ठभूमिमा हुर्केका लक्ष्मण ज्ञवालीको पहिलो काव्यकृति `किसान कविता सङ्ग्रह´ हातपर्यो । पुराना पुस्तक व्यवसायी , प्रचुर पारिवारिक साहित्यिक पृष्ठभूमि भएर पनि उमेरले तीनबिस काटेका लेखकको `यो पहिलो कृति हो ´ भन्दा मलाई नै आश्चर्य लागेको थियो । तर ढिलै होस् ! राम्रै होस् ! ´ भन्ने उखानलाई चरितार्थ गर्दै वास्तव मै अच्छा पुस्तक तयार गरेछन् कवि ज्ञवालीले । ज्ञवालीको `किसान कविता संङ्ग्रह´ प्राप्त भएछि पुस्तक समिक्षक वा समालोचकको भूमिकामा नभएर सर्वसाधारण पाठकका रुपमा दृष्टिभाव व्यक्त गर्न मन लाग्यो र तत्कालै टाइप गर्न थालेँ ।
साबिक गुल्मी छत्रकोट बोहा जन्मभूमि भएका सादगी,मृदुभाषी र सामाजिक स्वभावका लेखकको हालको बसाइ रुपन्देहीको तिलोत्तमा शंकरनगर हो । कवि लेखनाथ ज्ञवाली स्मृति प्रतिष्ठानले प्रकाशन गरेको लेखक ज्ञवालीका १०४ वर्षीय पिता ऋषिराम ज्ञवालीको कृति ` ऋषिकृत भजन संग्रह´ पनि पढ्ने अवशर प्राप्त भएको थियो । उहाँका दिदीभिनाजु दुर्गा पौडेल र मदनलाल पौडेलको जोडी पनि पत्रकार एवं लेखकका रुपमा परिचित जोडी हो । त्यसैगरी यस क्षेत्रको राजनितिक र साहित्यिक विकासमा लेखकका जेठा दाजु स्वर्गीय लेखनाथ ज्ञवालीको पनि अतुलनीय योगदान छ ।
आफ्ना मातापिताप्रति समर्पणभाव अर्पण गरि आरम्भ गरिएको ६५ पेजको छुट्क्याइलो कविता संग्रहका ४२ वटा कविताका शीर्षकहरू मध्ये क्रमाङ्कमा पहिलो र लेखन मितिका हिसाबले पछिल्लो समयमा अन्नदाता किसानका सम्मानमा लेखिएको ` किसान´ शीर्षकले यो कविता सङ्ग्रहको आवरण परिचय पाएको छ । इमान्दारीता र लागातारको परिश्रमबाट आफ्ना पसिना सिञ्चित गरि अरुको भोकप्यास मेटाउने किसान ,आफू भने सदा एकसरो कछाड मै रहने न त उसलाई सहुलियत छ न त सान्त्वना नै सदा संघर्षमा बाँच्न बाध्य कृषिप्रधान देशको विवश किसानमा समर्पित `किसान कविता सङ्ग्रह ´ शीर्षकले पुस्तकको शीर्षक सार्थकता पाएको छ भने हरित आवरणले अझ सुगन्ध थपेको छ । लोकलय र शास्त्रीय छन्दको प्रयोग गरि रचिएका सबै कविताहरू कालजयी रुपमा देखिन्छन् ।
शिक्षा, राजनीति, समाज र परिवेशलाई ध्यान दिएर लेखिएका आकारका हिसाबले पनि छुट्क्याइला र फरक फरक छन्दका भएर होला सबै कविता पढ्दा रोचकता आभाष हुन्छ । वीरता, वात्सल्यता लगायतका गहनाले सजिएको यो पुस्तकमा समग्र रुपमा समाज परिवर्तनलाई विशेष जोड दिइएको छ । तीसको दशकमा लेखिएका `गरिबको पुकार´, `आह्वान´ र `एकताले देश बन्छ´ जस्ता कविताले तत्कालीन राज्यव्यवस्था विरुद्ध आवाज उठाएको छ भने हाल विद्यमान दलहरूका अकर्मण्यताका कारण यी कविता अहिले पनि उत्तिकै सान्दर्भिक छन् । बाललोकलयमा लेखिएको `सुन सुन नानी हो´ कवितामा पनि तोते बोली मै परिवर्तन सिकाउन लेखक पछि परेका छैनन् । `शारदा´ र `वनवाटिका सान हाम्रो´ कवितामा लेखकले कर्मथलो प्रति उत्तिकै भक्तिभाव र अपनत्व दर्शाएका छन् ।
यो पुस्तकका सबै कविता उत्कृष्ट र अब्बल छन् ।
हरेक कवितामा चेतना, हक-अधिकार र आवाज दर्शिएको छ । लेखकले किशोरावस्था देखि खोजेको देश र समाजको राजनैतिक व्यवस्था परिवर्तन त भएको छ तर आम जनताको अवस्था भने अझै पनि `शिशु लोकतन्त्र´ मा व्यक्त गरिए जस्तै छ ।
जनता हुन् आमा उसका बाबू बने नेता।
मैले ल्याएँ प्रजातन्त्र भन्दै बाँधे फेटा ।।
लोभ, पाप , राष्ट्रघात चल्यो मनीतन्त्र ।
किन होला सधैं शिशु हाम्रो लोकतन्त्र ।।
१९/२० वर्षे ठिटो उमेरमै छन्दमा कविता लेख्न थालेका र बारम्बार फुटकर लेख रचना प्रकाशित गरेका लेखकले ६५ वर्ष पुग्दा बल्ल प्रथम पटक पुस्तक प्रकाशन गर्नु लेखकको कमजोरीपना देखिन्छ । क्षमतावान सर्जक चुप लागेर बसेमा नेपाली साहित्य जगतलाई समेत नोक्सानी ठहर्छ भन्ने मेरो मान्यता हो । यस कृति उपर मेरो कुनै सुझाव छैन केवल धन्यवाद र शुभकामना मात्र छ । यो कृतिले चर्चा पाओस् । यस पुस्तकका अन्य संस्करणहरू र लेखकका अन्य कृतिहरू पनि छिट्टै पढ्न पाइयोस् ! जय होस् !