कृष्ण प्रसाद पौडेल
संयोगले प्रजातन्त्र दिवस परेको दिन, शनिवार ,फाल्गुण ७ गते आदरणीय दाजु मदन पौडेलको कृति `मृत्यले मुसारेको मानिस उपर अन्तरक्रियामा रुपन्देहीका गन्यमान्य स्रष्टाहरुको उपस्थिति रहेको समिक्षा र प्रतिक्रिया कार्यक्रममा सहभागी हुने अवशर पाइयो । म बबुरोले पढेका थोरै पुस्तकहरु मध्ये पुस्तक प्राप्त हुनासाथ निक्कै छिटो समयमा पढेर सकेको र दोहोर्याएर पढ्ने इच्छा जागृत भएको पुस्तक हो यो। मैले पढेका थोरै पुस्तकहरु मध्ये खप्तड स्वामीको विचार विज्ञानलाई भने बेलाबखतमा धेरै पटक दोहोर्याएर पढ्ने गरेकोछु । स्वामीजीको विचार विज्ञान आध्यात्मवादमा आधारित छ भने यो पुस्तक नितान्त भौतिक बस्तुपरक दस्तावेज पनि हो । सत्यकथनमा आधारित आत्मवृतान्त शैलीमा लेखिएको यो पुस्तकले तत्कालीन पञ्चायती व्यवस्था, नेपाली कम्युनिस्ट आन्दोलन, पत्रकारीताको मर्म र पत्रकारको कर्तव्य , आर्थिक सामाजिक र राजनैतिक इतिहासका साथै वर्गीय अवस्थालाई त समेटेको छ नै सायद लेखकले छुन नखोज्दा नखोज्दै पनि धार्मिक र सनातन परम्परालाई पनि मन्द स्पर्श गरेको भेटिन्छ ।
समाजमा खरो मान्छे भनेर चिनिएका लेखकले आफ्नो लेखन कलालाई पनि खरो रुपमै प्रस्तुत गरेको पाइयो । मलाई भने भाषिक अलंकार भन्दा कर्ण शाक्यको सोँच र हरिबंश आचार्यको चिना हराएको मानिस जस्तै गफ्फा शैलीमा लेखिएका पुस्तक मन पर्ने भएकोले यो पुस्तक पढ्दा लेखक संगै बसेको अनुभूति भयो । यदि पुस्तक लेखनका क्रममा रस, अलंकार र आभुषणलाई महत्त्व दिइएको भए सायद मलाई यो पुस्तक दोहोर्याएर पढ्न मन लाग्दैनथ्यो होला । साहित्य स्रष्टाहरुलाई फुल बुट्टा छन्द गति यति रस प्यारो लाग्नु स्वाभाविकै हो । कृति लेखकीय दृष्टिकोणले आलंकारिक हुनु राम्रो हो तर पठनीय दृष्टिकोणले पनि सहज हुनुपर्छ भन्ने मेरो मान्यता हो । लेखक पौड्याल सम्बन्धले मेरा दाजु भएकोले मलाई` तँ´भनी गरिएको संबोधन निक्कै प्यारो लाग्छ तरपनि मलाई यो पुस्तक दिन फोन मार्फत बोलाउँदा `ए किस्न ! तिमी याँ आउ त ; तिम्लाई मेरो पुस्तक दिन्छु ´भनेको शब्द सायद यो मेरा निम्तो पहिलो तिमी थियो होला । यसै गरि लेखकले आम रुपमा व्यवहारिक हिसाबले जसलाई जे सम्बोधन गर्थे पुस्तकमा पनि सोही बमोजिम सम्बोधन गरेको पाइयो। त्यसैले त यो आत्मवृतान्त साँचो छ भन्ने आधार छ ।
पुस्तक अन्तरक्रिया कार्यक्रममा उपस्थित झण्डै दर्जन व्यक्तित्वहरु नै उक्त पुस्तक भित्रकै एउटा ठूलो हिस्साका प्रत्यक्ष-अप्रत्यक्ष रुपमा पुस्तकका पात्रहरू हुनुहुन्थ्यो त्यसैले पनि यो आत्मवृतान्त सत्यतामा मात्र आधारित छ भन्ने प्रमाण पाइयो । यसैगरी मृत्युको हत्केलामा बसेर लेखिएको पुस्तक झुट हुन सक्दैन भन्ने अर्को दह्रो प्रमाण पनि पुस्तक स्वयंले बताएको छ । तत्कालीन सामाजिक मान्यतालाई तोड्दै चरेसको थालमा मदिरा पान गरेको कुरा र भैरव अर्यालसंगको संगत र नितान्त व्यक्तिगत गोपनियताका कोठे पार्टिलाई समेत पुस्तकमा हुबहु स्थान दिनुले यो पुस्तक आत्मसाक्षी राखेर लेखिएको आत्मवृतान्त हो भन्नेमा दुविधा रहेन। पुस्तकमा खरो र निडर स्वाभावका देखिएका लेखक पुस्तकमा मात्र नभई व्यवहारिक जीवनमा समेत उस्तै छन् । उच्चस्तरको आत्मविश्वासका कारण निकै जिर्ण स्वास्थ्य अवस्थामा पनि यो पुस्तक लेख्ने क्रममा सायद लेखकलाई आजको दिनमा लेखकको आफ्नो भौतिक उपस्थिति सम्बन्धमा परिकल्पना नहुन पनि सक्छ र आफुले शारीरिक हिसाबले लेख्न नसके पनि आफुले मुखले भट्याउँदै भाउजू दुर्गा पौड्याललाई भटाभट लेख्न लगाउनुभएको अनुमान गर्न सकिन्छ । झट्ट शिर्षक र पुस्तकीय आवरण देख्दा कुनै सफल राजनितिज्ञ या सेलिब्रेटिको आत्मवृतान्त हो कि जस्तो लाग्ने देखिए पनि यो त नितान्त एउटा सभ्रान्त परिवारको छोरा कसरी कम्युनिस्ट आन्दोलनको नायक बन्न पुग्छ ? आफु स्वयं सभ्रान्त पारिवारिक पृष्ठभूमिको भएर पनि वर्गीय भेद अन्त्य गर्न उसले रोजेको निकै कष्टकर भूमिगत जीवनको भोगाइ , तत्कालीन राज्यव्यवस्था परिवर्तन गर्न समर्पित नायकको श्रीमती हुनुको कष्ट र साथ सहयोग मात्र नभई उत्तरार्ध अवस्थामा पुस्तक लेखनमा समेत लेखकको मन र दिमाग कै गतिमा लेखककी पत्नी भाउजू दुर्गा पौड्यालको कलमको प्रवाह गति पनि प्रशंसा गर्न लायक छ। आफू स्वयं एउटा कम्युनिस्ट योद्धा तर आफैले कम्युनिस्ट पार्टीको अर्को व्यक्तिलाई जबर्जस्ति ५ लाख चन्दा दिनुपर्ने तर रसिद मात्र ३ लाख रुपियाको मात्र पाउनु भनेको राजनैतिक इमानदारीताको दृष्टिबाट निकै पिडादायी अवस्था देखिन्छ । यसैगरी लेखकले घरको धुरीमा गाडेको कम्युनिस्ट पार्टीको झण्डा हटाएर नेपालको राष्ट्रिय झण्डा गाडेको दिन पनि लेखको लागि निकै कष्टकर रह्यो होला भन्ने महशुस गर्न सकिन्छ । लेखकले आफ्नै सन्तति गुमाउँदा भएको पारिवारिक पिडालाई भन्दा बढी देशको दुर्दशा देखेर पीडित भएको देखिन्छ । शारीरिक रुपमा क्यान्सर जस्तो रोग त्यसमाथि कोरोना त्यसमाथि लगातार चार पटक सल्यक्रिया गरेर एउटा किड्नी र पिसाब थैली समेत फालेर कृतिम थैलो बोकेर मधुमेह जस्तो दीर्घ रोग त छँदैछ तर पनि अन्तरक्रिया कार्यक्रममा उपस्थित हुने हामी सबैभन्दा अझ उच्च मनोवल साथ गरिएको प्रस्तुतिले पनि म बुढो भएँ निकै रोगी छु भन्नेहरुका लागि पुस्तकका पाना बाहिरबाट पनि अव्यक्त हौसला मिलिरहेको थियो। एउटा सच्चा कम्युनिस्ट जसले मार्क्सवाद लेलिनवाद मात्र नभइ धेरै वादहरु पढेको छ , विश्व राजनैतिक परिवर्तनका दर्जनका दर्जन पुस्तक अध्ययन र प्रत्यक्ष अनुभव बोकेको छ, देश विदेश घुमेको छ ,आफ्नो परिवार र शरीर भन्दा बढी परिवर्तनमा ध्यान छ तर नातावाद कृपावाद चाकडीचप्लुसीवादका कारण अवस्था दयनीय भएको देखेको छ । यो पुस्तक कम्युनिस्टका विभिन्न वादहरु पछ्याउनेहरुका लागि मात्र होइन राजनीतिमा कसो गर्दा पतन भइन्छ र सफल हुन के गर्नुपर्ने हुन्छ भनी जान्नको लागि अझ बढी गैह्र कम्युनिस्ट र दक्षिणपन्थी राजनीति गर्नेहरुलाई पनि त्यत्तिकै उपयोगी छ ।
इतिहासकारलाई उपयोगी छ, पत्रकार स्वयंको कृति भएकोले पत्रकारलाई उपयोगी छ पत्रकारिताका नाममा बाटो बिराएका कारहरुलाई सुध्रिन उपयोगी छ। पुस्तकमा राजनैतिक नियात्रा पनि समेटिएकोले नियात्राकारलाई पनि त्यत्तिकै उपयोगी छ। ब्यापारीलाई उपयोगी छ विद्यार्थीलाई उपयोगी छ आत्मबल सहित कसरी जीउन सकिन्छ भनेर जीर्ण शरीर लिएर थला परेकाहरुलाई जीवन जिउन उपयोगी छ। कठिन परिस्थितिमा घर धान्ने कसरी हो गृहिणीलाई उपयोगी छ । इतिहास स्मरण गर्न चाहने वृद्धलाई उपयोगी छ इतिहास जान्न उत्सुक हुने बालकलाई उपयोगी छ। तर यो पुस्तक त सबै भन्दा उपयोगी त ती व्यक्तिलाई छ जो लेखकका समकालीन राजनैतिक पात्र थिए जसले राजनीतिको खोल ओढेर विभिन्न ओहोदामा पुग्न हात पाउ मोले व्यक्तिगत स्वार्थका निमित्त प्रभुहरुका पैताला चाटे अनि स्थान पाए जनतालाई र राज्यलाई खरीजुकाले र बनकिर्नाले जस्तै चुसे । व्यक्तिगत फाइदाका लागि कहिले जुटे-जुटाए ,कहिले फुटे-फुटाए तर लेखकले मात्र त्याग गरे लाभको पद नलिइ आफ्नो जिवन बिताए । त्यसैले राजनीतिका नाममा ब्यक्तिगत लाभमा रमाईरहेका सुकिला मुकिला नवदरवारियाहरुले त अनिवार्य पढ्नै पर्ने यो पुस्तक सबैभन्दा बढी तिनैलाई उपयोगी छ। र अन्त्यमा भन्छु , लेखक पाठकको तर्फबाट मात्र नभई आम नागरिकको तर्फबाट धन्यवादको पात्र छन् ।