हरि आचार्य, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. २ को आयोजनामा तीज मिलन कार्यक्रम सम्पन्न गरिएको छ । हिन्दु महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा एक अर्र्कामा शुभकामना साटासाट गरि दर खुवाएर तीज मिलन कार्यक्रम सम्पन्न गरिएको हो । विशेष गरि ईलाका प्रहरी कार्यालय पिपराका महिला सुरक्षाकर्मी, पिपरा अस्पतालमा कार्यरत महिला कर्मचारी, निवर्तमान जनप्रतिनिधि, टोल विकास संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरुसंग तीज मिलन कार्यक्रम गरिएको वडाध्यक्ष बिष्णु प्रसाद पौडेलले लुम्बिनी दर्पणलाई जानकारी दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि बाणगंगाका मेयर चक्रपाणि अर्यालले संस्कृति संरक्षण अहिलेको आवश्यकता भएको बताउनुभएको छ । नेपालीहरुले परम्परागत रुपमा मनाउँदै आएका चाडपर्वमा क्रमश विकृति मौलाउँदै गएकाले यसलाई न्युनिकरण गर्नुपर्नेमा जोड दिनुभयो । नेपाली नारीहरुको महान पर्व तिजलाई मौलिकता झल्किने गरि मनाउनु पर्ने उहाँको भनाई छ । पहिले मनाउने तिज र अहिले मनाउने तिजमा असाधारण रुपमा परिवर्तन आएको भन्दै तिजको मौलिक संस्कृति झल्किने गरि मनाउनुपर्नेमा जोड दिनुभयो ।

विशिष्ठ अतिथि उपमेयर रिता कुमारी चौधरीले नारीहरुले तिजको महत्वलाई कहिल्यै भुल्न नहुने बताउनुभयो । उपमेयर चौधरीले तिजको मौलिकता, महत्व, आदर्श, दर्शन र सिद्धान्तलाई अंगालेर तिज मनाउनुपर्ने बताउनुभयो ।
वडाध्यक्ष विष्णु प्रसाद पौडेलले तिजको मौलिकतामा ह्रास आउनु चिन्ताको विषय भएको भन्दै यसमा जनप्रतिनिधिको विशेष चासो रहेको बताउनुभयो । नारीहरुका दुःख, कष्ट, वेदनालाई प्रस्फुटन गर्ने पर्वका रुपमा रहेको तिज पर्व अहिले मनाउने तरिका परिवर्तन हुदै गएको भन्दै यसलाई न्युनिकरण गनुपर्नेमा जोड दिनुभयो ।
तिजको मौलिकता संरक्षण गर्नु सबैको दायित्व भएकाले यसका लागी सबैले भूमिका निर्वाह गर्नुपर्ने वडाध्यक्ष पौडेलको भनाई छ । उहाँले हरितालिका तीजको अवसरमा सम्पुर्ण वडावासीमा शुभकामना व्यक्त गर्दै वडाको भौतिक विकास संगै सामाजिक रुपान्तरणको क्षेत्रमा पनि वडा कार्यालयले विभिन्न योजना बनाएको बताउनुभयो ।
वडाध्यक्ष विष्णु प्रसाद पौडेलको अध्यक्षता, मेयर चक्रपाणि अर्यालको प्रमुख आतिथ्यता, उपमेयर रिता कुमारी चौधरीको विशिष्ठ आतिथ्यता, वडाका सम्पुर्ण जनप्रतिनिधि, ईलाका प्रहरी कार्यालय पिपराका महिला सुरक्षाकर्मी, पिपरा अस्पतालमा कार्यरत महिला कर्मचारी, निवर्तमान जनप्रतिनिधि, टोल विकास संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरुसंग रहेको कार्यक्रम वडा सचिव नरेन्द्र पोखरेलको संचालनमा सम्पन्न भएको हो ।




















