हरि आचार्य, कपिलवस्तु
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. २ ले कृषि तथा पशुपालन पेशामा आवद्ध कृषकहरुलाई मुख्य प्राथमिकता दिएर काम गर्न लागेको छ । धेरै वडावासीको मुख्य पेशा कृषि तथा पशुपालन भएकाले तिनिहरुलाई सहयोग गर्ने उद्देश्यले ५० वटा दर्ता भएका फर्म र ४ सय बढी कृषकहरुलाई उन्नत घाँसको विउ प्रदान गरिएको वडाध्यक्ष बिष्णु प्रसाद पौडेलले जानकारी दिनुभएको छ ।
चालु आर्थिक बर्षको कार्यक्रम अनुसार कृषकको आर्थिक स्तर माथि उकास्न र उनीहरुको मेहनत र संघर्षको कदर गर्दै घाँसका विउ वितरण गरिएको वडाध्यक्ष पौडेलले बताउनुभयो । उन्नत घाँसको विउ पाएसंगै कृषक खुसी भएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि बाणगंगाका नगर प्रमुख चक्रपाणि अर्यालले कृषि क्षेत्रको विकासका लागि नगरपालिका लागिपरेको बताउनुभयो । उहाँले वडाले गरेको काम उदाहरणिय रहेको बताउनुभयो ।
वडाध्यक्ष पौडेलले भौतिक विकास निर्माणले मात्र वडा समृद्ध नहुने भन्दै कृषि क्षेत्रको विकास अपरिहार्य रहेको बताउनुभयो । उहाँले आगामी दिनमा पनि वडा कार्यालय सदैव कृषकको पक्षमा रहेको बताउनुभयो ।
वडाध्यक्ष पौडेलको अध्यक्षता र वडा सचिव नरेन्द्र पोख्रेलको सञ्चालनमा सम्पन्न कार्यक्रमम वडाका जनप्रतिनिधिहरु लगायत कृषकहरुको उपस्थिती रहेको थियो ।




















