
हरि आचार्य, कपिलवस्तु
अपांगता भएका व्यक्तिहरुलाई दयामाया मात्र हैन अवसरको खाँचो रहेको सरोकारवालाहरुले बताएका छन् । अपांग उत्थान समाज कपिलवस्तुको आयोजना, सामाजिक विकास डिविजन कार्यालयको आर्थिक सहयोग तथा बाणगंगा नगरपालिकाको समन्वयमा गजेहडामा सम्पन्न समुदायिमा आधारित पुर्नस्थापना कार्यक्रम अन्तर्गत पहुँचयुक्त भौतिक संरचना तथा संचार निर्देशिका २०६९ सम्बन्धि सरोकारवाला निकायहरुसंगको अन्तरक्रिया कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि बाणगंगा नगरपालिकाका प्रमुख चक्रपाणि अर्यालले अपांगता भएका व्यक्तिहरुका लागि नगरपालिकाले सहायता सामग्री प्रदानसंगै उनीहरुको पुर्नस्थापनाका लागि तयार रहेको बताउनुभयो । नगर प्रमुख अर्यालले अपांग उत्थान समाजसंग समन्वय गरि अपांगता भएका व्यक्तिहरुका लागि रोजगार र स्वरोजगारमा जोड्ने खालको योजना बनाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमका विशिष्ठ अतिथि सामाजिक विकास डिविजन कार्यालय कपिलवस्तुका प्रमुख राम करण पालले अपांगता भएका व्यक्तिलाई विभेद गर्न नहुने भन्दै समान व्यवहार गर्नुपर्ने बताउनुभयो । उहाँले अपांगता भएका व्यक्तिलाई अवसर प्रदान गर्नका लागि सबै निकायहरु एकजुट हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय अपांग महासंघ नेपाल निवर्तमान केन्द्रिय अध्यक्ष मित्रलाल शर्माले पहुँचयुक्त भौतिक संरचना तथा संचार निर्देशिका २०६९ सम्बन्धि ऐन तथा विभिन्न बिषयहरुको बारेमा प्रस्तुती प्रदान गर्नुभएको थियो । उहाँले आफु अध्यक्ष हुंदा अपांगता भएका व्यक्तिको लागि नीति नियम निर्माण देखि विभिन्न कार्यहरु गरेको बताउँदै अझै केहि कामहरु गर्न बाँकी रहेको बताउनुभयो ।
त्यस्तै संस्थाका कार्यक्रम संयोजक गोमा पन्थीले संस्थाको क्रियाकलाप सहित अपांगताको परिचय, कारण तथा रोकथामका उपायहरुको बारेमा स्पष्ट पार्नुभएको थियो ।
अपांग उत्थान समाज कपिलवस्तुका अध्यक्ष कमल ढुंगानाले सबै निकाय संघ संस्था मिलेर नै अपांगत भएका व्यक्तिको जिवन स्तर उकास्न सकिने बताउँदै कार्यक्रममा उपस्थित सम्पुर्णलाई धन्यवाद व्यक्त गर्नुभयो ।
अपांग उत्थान समाज कपिलवस्तुका अध्यक्ष कमल ढुंगानाको अध्यक्षता, संस्थाका निवर्तमान अध्यक्ष हेमनाथ ज्ञवालीको स्वागत मन्तब्य तथा कार्यक्रम संयोजक गोमा पन्थीको सञ्चालनमा सम्पन्न कार्यक्रममा बाणगंगा नगरपालिका योजना शाखा प्रमुख शान्तराज आचार्य, महिला वालवालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख सुशिला पन्थ, कर्मचारी, प्राविधिक, निर्माण व्यवसायी, पत्रकार तथा अपांगता भएका व्यक्तिहरुको उपस्थिती रहेको थियो ।