आकृती भुसाल , शिवपुरा ।
म कान्छी छोरी हुँ—
छ दिदीको माया,
एक भाइको अपनत्व,
बुवा–आमाको आशीर्वादमा
हुर्किएको एउटा कथा।
दिदीहरूको औँला समाउँदै
बालापन पार गरेँ,
भाइसँग हाँस्दै
घरको न्यानोपन बुझेँ।
त्यही घरले मलाई
माया मात्र होइन,
मान्छे भएर बाँच्ने संस्कार दियो।
आज म जागिरे छु।
बिहान जिम्मेवारी बोकेर निस्कन्छु,
दिनभर कर्म गर्छु,
साँझ आफ्नै घर फर्कन्छु।
म श्रीमती हुँ,
बुहारी हुँ,
छोरी हुँ—
र एउटी छोरीकी आमा पनि।
कामको थकानभन्दा माथि
छोरीको एउटा मुस्कान हुन्छ,
त्यसैले हरेक दिन
फेरि आफूलाई जुटाउँछु।
मेरो यात्रामा
बुवा–आमाको आशीर्वाद छ—
जसले अप्ठ्यारोमा
ढाडस दिन्छ।
भेनाजुको मार्गदर्शन छ—
जसले अन्योलमा
बाटो देखाउँछ,
र प्रेरणाले भन्छ—
“अझै अघि बढ।”
श्रीमानको माया र साथ छ—
जसले मेरो जिम्मेवारी बुझ्नुहुन्छ
मेरो मौन थकान पढ्नुहुन्छ
आवश्यक पर्दा मेरो छेउमा उभिनुहुन्छ।
त्यसैले म सहयोगलाई बोझ ठान्दिनँ,
मेहनतलाई बाध्यता मान्दिनँ।
यी त मैले पाएको
मायाको ऋण तिर्ने
आफ्नै तरिका हुन्।
तर मसँग
परिवारका लागि मात्र सपना छैनन्।
मेरो पनि एउटा आकाश छ,
जहाँ आफ्नै नामले
उड्न मन लाग्छ।
मेरी छोरीलाई पनि
त्यही आकाश दिन चाहन्छु—
जहाँ उसले
जिम्मेवारी बुझोस्,
तर आफ्नो सपना नछोडोस्।
म कान्छी छोरी हुँ,
तर समयले मलाई
घरकी कान्छीबाट
धेरै सम्बन्धको आधार बनायो।
दिदीकी बहिनी,
भाइकी दिदी,
बुवा–आमाकी छोरी,
भेनाजुकी साली ,
श्रीमानकी जीवनसाथी,
सासू ससुराकी बुहारी
मेरी छोरीकी आमा—
यी सबै नामभित्र
म आफैंलाई पनि जोगाएर हिँडिरहेकी छु।
मेरा सपना हराएका छैनन्,
जिम्मेवारीको बाटो हुँदै
आफ्नो गन्तव्यतिर बढिरहेका छन्।
म कान्छी छोरी हुँ—
माया पाएकी,
सहयोग गर्न सिकेकी,
मेहनतमा विश्वास गर्ने
र आफ्नै सपनालाई
अझै मुटुभित्र जोगाएर
हिँडिरहेकी एक महिला।




















