परासी, २० जेठ ः
पश्चिम नवलपरासीको बासाबसहीस्थित भलुही खोलामा नदीजन्य पदार्थको दोहन भइरहेको पाइएको छ । नदी दोहनले बस्ती नै जोखिममा परेको छ । उक्त खोलाको सरावल गाउँपालिकाले ठेक्का लगाएको छ । जेठ मसान्तसम्मका लागि ठेक्का लगाइएको हो । ठेक्काको म्याद सकिने समय नजिकिदैं गर्दा ठेकेदारले मेशिन प्रयोग गरेर नदीजन्य पदार्थ दोहन गर्न सुरु गरेको स्थानीयले बताएका छन् । गाउँपालिकाले सुनवलस्थित पञ्चतारा कन्स्ट्रक्सनका प्रोपाइटर प्रदिप पोखरेललाई ४५ लाखमा ठेक्का दिएको गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीले बताए । नदीजन्य पदार्थ उत्खनन् गर्दा मेशिन प्रयोग गर्न नपाईने गरी दिइएको उनले जानकारी दिए । तर ठेकेदारले बस्ती नै जोखिममा पर्ने गरी ढुंगा, बालुवा निकालेपछि स्थानीयले बिरोध गरेका छन् । ठेकेदारले दिनमा ३ वटा सम्म स्काभेटर प्रयोग गरेर नदीजन्य पदार्थ निकाल्ने गरेको स्थानीयले बताए । यसैबीच नदीजन्य पदार्थको दोहन भएको गुनासो बढेपछि प्रहरीले एक स्काभेटरसहित १५ वटा टेक्टर खोलाबाट पक्राउ गरेको छ । ३ वटा स्काभेटरले नदीजन्य पदार्थ निकालेको जानकारी पाएपछि गएको प्रहरीले खोलाबाट १ स्काभेटरसहित टेक्टर पक्राउ गरेको हो । २ वटा भने ठेकेदारले पहिल्य नै भगाई सकेकाले पक्राउ पर्न नसकेको स्थानीयले बताए ।
खोलामा जथाभावी रुपमा मेशिन प्रयोग गरेको जानकारी पाएपछि गएको प्रहरी टोलीले स्काभेटर र टेक्टर पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी राजु लामाले बताए । पक्राउ परेका सबै सवारी साधनलाई आवश्यक कारबाहीका लागि गाउँपालिका पठाइने लामाले जानकारी दिए ।




















