लुदअ, कपिलवस्तु
आफुहरु रोजगारीमा जोडिएसंगै समाजले हेर्ने दृष्टीकोणमा परिवर्तन आएको अपाङगता भएका ब्यक्तीहरुले बताएका छन् । रोजगार बनेसंगै अहिले सामाजिक प्रतिष्ठासंगै मानसम्मान पाएको उनिहरुले बताए । शनिबार फाउण्ड परियोजना बुटवल कलस्टरले मायादेवी रिसोर्ट बैरियामा आयोजना गरेको अपाङगता भएका ब्यक्तीसंग अन्तरकृया तथा उत्प्रेरणा बृद्धि कार्यक्रममा बोल्ने सहभागीले सो कुरा बताएका हुन् ।
कार्यक्रममा बोल्दै परियोजनाको सहयोगमा औपचारीक रोजगारीमा जोडिएका नन्दकिशोर यादवले फाउण्ड परियोजनाले अपाङगता भएका ब्यक्तीहरुलाई रोजगारीमा जोडेसंगै यसबाट अपाङगता भएका ब्यक्तीहरु लाभान्वित भएको बताउनुभयो । यस्तै औपचारीक रोजगारीमा जोडिएसंगै महेन्द्र थारुले आफुलाई समाजले हेर्ने दृष्टीकोणमै परिवर्तन आएको बताउनुभयो । उहाँले पहिला पैसाको अभाव हुंदा कसैले नखोजेको र अहिले रोजगारीमा जोडिएसंगै आफुले गर्ने कामका लागि घरमै आउन लागेको भन्दै खुसी व्यक्त गर्नुभयो ।
यता संमृद्धि फुड प्रोडक्टमा रोजगारीमा जोडिएका बिष्णु प्रसाद भट्राईले आफुले गर्ने ठाउँका रोजगारदाताले राम्रो व्यवहार गरेको बताउनुभयो ।
अन्य सहभागीले पनि इमान्दारीताका साथ काम गरेको र आगामी दिनमा पनि त्यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी अपाङग उत्थान समाज कपिलवस्तुका अध्यक्ष कमल ढुङगानाले अपाङगता भएका ब्यक्तीलाई स्वरोजगार बनाउदै आत्मनिर्भर बनाउने काम गरेको भन्दै फाउण्ड परियोजनालाई धन्यवाद दिनुभयो । यसरी परियोजनाले दिएको साथ तथा सहयोगलाई आत्मसाथ गर्दै अपाङगता भएका ब्यक्तीहरुले पनि इमान्दारीताका साथ काम गर्नुपर्नेमा जोड दिनुभयो । अपाङगता भएका ब्यक्तीहरु प्रेरणाको स्रोत बन्नुपर्ने भन्दै एउटाले गरेको कामबाट अर्कोलाई पनि सहयोग पुग्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा फाउण्ड परियोजना बुटवल कलस्टरका म्यानेजर राम दयाल यादवले परियोजाले गरेका काम तथा गतिविधिबारे प्रकास पर्नुभएको थियो ।
कार्यक्रम अध्यक्ष यादवको अध्यक्षता, परियोजनाका रोजगार परामर्शकर्ता गिता अर्यालको संचालन र परियोजनाकै ब्यवसाय अधिकृत ढाकाराम अधिकारीको सहजीकरणमा भएको हो ।
कार्यक्रममा औपचारिक रोजगारमा जोडिएका दुई दर्जन बढीको सहभागिता थियो । दि लेप्रोसी मिसन नेपाल अन्तरगत सन्चालित फाउण्ड परियोजनाद्धारा आयोजित कार्यक्रम राष्ट्रिय अपाङग महासंघ नेपाल र उद्योग वाणिज्य महासंघको संयुक्त साझेदारीमा संचालित परियोजना हो ।



















