लुदअ १५ फागुन, काठमाडौं
२३ कात्तिक २०७३ मा भारत सरकारले एक्कासी ५ सय र १ हजार रुपैयाँका दरमा प्रतिबन्ध लगाउने निर्णय गर्यो । कालो धन नियन्त्रण गर्न भन्दै छिमेकी मुलुक भारतले गरेको नोटबन्दीको यो निर्णयले नेपाल सरकारलाई भने अहिलेसम्म पिरोलेको छ ।
सरकारी उदासीनताले भनौं या भारत सरकारको बेवास्ताले नेपालको बैंकिङ प्रणालीमा रहेका ७ करोड भारतीय रुपैयाँ अझै साटिएका छैनन् । नेपाल राष्ट्र बैंकले आफूसँग रहेका भारतीय नोटहरु साट्न भारतको केन्द्रीय बैंकलाई पटक(पटक पत्राचार गरे पनि सुनुवाइ गरेन ।
अब भने राष्ट्र बैंकले यी नोट साटिने आशा मारेको छ । त्यतिबेला भारतीय नोट साट्न सक्रियता देखाएका तत्कालीन डेपुटी गभर्नर चिन्तामणि सिवकोटी, अर्का डेपुटी गभर्नर शिवराज श्रेष्ठ र गभर्नर डा. चिरञ्जीवि नेपाल राष्ट्र बैंकबाट बाहिरिसकेका छन् । हालको राष्ट्र बैंको नेतृत्वले भने यस विषयमा चासो देखाएको छैन ।
‘अब त हामीले आश पनि मारिसकेका छौं, नोट साटिने भन्ने सम्भावना छ भन्ने लाग्दैन’ राष्ट्र बैंकका एक कर्मचारी भन्छन्, ‘सास रहेसम्म आस चाहिं गर्नुपर्छ भन्ने उखान जस्तै नोट ढुकुटीमा थन्काएर राखिएको छ, साटिन्छ भन्ने कुरामा भर पर्न सक्ने अवस्था रहेन ।’
भारत सरकारले भारु ५ सय र हजार दरका नोट चलनचल्तीमा प्रतिबन्ध लगाउँदा नेपाली वित्तीय प्रणालीमा करिब ७ करोड ८५ लाख भारु नोट रहेको बताएको थियो । यसमा थोरै केही रकम विभिन्न निकायहरुले सटही गरे पनि धेरै रकम अहिले पनि राष्ट्र बैंकका ढुकु्टीमा थन्किएर बसेको छ ।



















