लुदअ बैशाख ३०, काठमाण्डौ
निर्वाचन आयोग नेपालले स्थानीय तह निर्वाचन २०७९ मा ६५ देखि ७२ प्रतिशतसम्म मतदान हुने आँकलन गरेको छ ।
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोगले पालिका तहको चुनावमा ६५ देखि ७२ प्रतिशतसम्म मतदान हुने आँकलन गरेको बताउनुभएको हो । उहाँले ३ बजेसम्म ४६ प्रतिशत मत खसेको र सो क्रम ५ बजेसम्म जारी रहने बताउनु भयो । प्रमुख आयुक्त थपलियाले देशभरका ३२ वटा मतदान केन्द्रमा भने विभिन्न राजनीतिक दलका उम्मेदवारहरुबीचको द्वन्द्वका कारण मतदान स्थगित भएको तर रद्द नभएको बताउनु भयो । मतदान कार्य साँझ ५ बजेसम्म चल्ने भएकोले अझै मतदाताहरुले आफ्नो मताधिकार प्रयोग गरेर मत हाल्न सक्ने बताउनु भयो ।
प्रमुख आयुक्त थपलियाले श्रोत, साधन र प्रविधिलाई खिल्ली उडाउने र वितण्डा गर्ने पक्षमा आयोग नरहेको स्पष्ट पार्दै विभिन्न गतिविधि गरेर निर्वाचनलाई रोक्ने प्रयास गरेमा त्यो मान्य नहुने बताउनु भयो ।




















